04/30/2025, 01:02:51

सुन खरिदको सिफारिस दिँदा व्यवसायीबाट शुल्क नलिन संघ/महासंघलाई राष्ट्र बैंकको निर्देशन


१६ वैशाख, काठमाडौं : सुन खरिदको सिफारिस दिँदा सुन व्यवसायसम्बन्धी संघ/महासंघले व्यवसायीहरुबाट शुल्क लिन नपाउने भएका छन् । यसअघि सुन व्यवसायसम्बन्धी संघ/महासंघले व्यवसायीलाई सुन खरिदको सिफारिस दिँदा मनपरी शुल्क लिएको भन्ने गुनासोका आधारमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार सो निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब सुन व्यवसाय सम्बन्धी संघ/महासंघले व्यवसायीलाई निशुल्क रुपमा सुन खरिदका लागि सिफारिस दिनुपर्नेछ । ‘सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु/गराउनु हुन सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।

नेपालमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन् । व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट किन्नु पर्छ । बैंकबाट सुन किन्नका लागि व्यवसायसँग सम्बन्धी संघ वा महासंघको सिफारिस चाहिन्छ । यसरी व्यवसायीलाई सुन खरिदको सिफारिस दिँदा संघ/महासंघले प्रतिकिलो ६ हजार रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यही गुनासो राष्ट्र बैंकमा पुगेपछि अहिले त्यस्तो सिफारिस शुल्क लिन नपाइने व्यवस्था गरिएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ