काठमाडौँ, १४ वैशाख : जुल्स कुन्डेले गरेको उत्कृष्ट गोलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपा डेल रे को उपाधि जितेको छ ।
सेभियास्थि ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएपनि रियलले लगातार दुई गोल फर्काउँदै अग्रता लिएको थियो । तर, बार्सिलोनाले बराबरी गोल फर्काएपछि निर्धारित समयमा २-२ को बराबरीमा सकियो । पेड्रील २८औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एमबाप्पेले ७०औं मिनेटमा फ्रिकिकमार्फत बराबरी गोल फर्काए ।
चुवामेनीले ७७औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । तर, रियलको अग्रता लामो समय टिकेन । फेरान टोरेसले ८४औं मिनेटमा गोल गरेपछि खेल २-२ को रोमाञ्चक स्थितीमा पुग्यो । निर्धारति समयमा नतिजा नआएपछि खेलमा ३० मिनेट समयम थप गरिएको थियो । जुल्स कुन्डेले ११६औं मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।
खेलको अन्तिम समयमा रियलका कप्तान लुकास भजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड सामना गरेका थिए । तर उनीहरु दुवै खेलाडी मैदान बाहिर गइसकेका थिए । बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।