मुस्ताङ, ११ वैशाखः राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले आज दुई घण्टा सडक अवरोध समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले तत्काल निर्माण कम्पनीलाई भाँसिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिनुभएपछि सडक आगमन खुल्ला गरिएको हो । योसँगै मुक्तिनाथ–कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन् ।
यसअघि जोमसोममा निर्माणधिन मुख्य सडक भाँसिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए । उनीहरुले गत वर्ष भाँसिएको करिव १०० मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै मुक्तिनाथ–कोरला सडकमा केही समय आवत जावतमा अवरोध गरेका थिए ।
जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भाँसिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक–पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित ध्यानआर्कषण गराउँदासमेत भाँसिएको सडक स्तरोन्नति गर्न पहल नभएको बताउनुभयो ।
मुस्ताङको घरपझोङ–४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताउँनुभयो । निर्माण कम्पनीले पटकपटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भिर रूपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको बताउँनुभयो ।
विसं २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ–जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले ढिलासुस्ती गर्न सम्पन्न हुनसकेको छैन । मार्फा–जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक अविलम्व सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयले माग गरेका छन् ।