04/23/2025, 11:05:43

शिक्षकलाई सडकबाट विद्यालय फर्काउन आग्रह


काठमाडौँ, १०  वैशाखः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकलाई सडकबाट विद्यालयमा फर्काउन नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घसमक्ष आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले आज प्रेस विज्ञप्ति जारी गरी आपसी संवादमार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन आग्रह गर्नुभएको हो ।

संविधान जारी भएको एक दशक हुँदा पनि ऐन नआएपछि त्यसको माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको सडक आन्दोलनलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक समस्या समाधानमा जिम्मेवार बन्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,  “जिम्मेवारीपूर्वक गम्भीर ढङ्गले परिस्थितिको आकलन गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछौँ ।

महासङघले बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गर्दै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीसँग समन्वय गरेर अवरुद्ध रहेको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना कार्यलाई सहजीकरण गर्न देशभरिका विद्यालय व्यवस्थापन समितिलाई समेत आह्वान गरेको छ ।

शैक्षिक आमहड्तालबाट करिब २८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध रहेकाले लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा गम्भीर असर परेको र अभिभावकमा अन्योलता छाएको प्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ