काठमाडौँ, ५ वैशाख : यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई प्रदान गरिएको छ । पारिजात स्मृति दिवसका अवसरमा आज पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।
यस वर्षको पारिजात कला सम्मान मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गरिएको छ । चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उहाँलाई सम्मान गरेको हो । लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकार डङ्गोल दर्जनौँ एकल तथा संयुक्त कला प्रदर्शनीमा सहभागी भइसक्नुभएको छ ।
यस्तै केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सृजना सम्मान साहित्यकार बिना थिङ र पारिजात सङ्घर्षशील नारी सम्मानबाट डा विन्दा पाण्डेलाई सम्मान गरेको छ । उहाँहरूलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । गत फागुन ३० गते पारिजातको जन्मजयन्तीका अवसरमा उक्त सम्मान घोषणा गरिएको थियो ।
सम्मानित स्रष्टाहरूले पारिजातको नाममा सम्मान प्राप्त हुँदा खुसी लागेको र उक्त सम्मानले आफूहरूलाई थप जिम्मेवारी मिलेको अभास भएको बताउनुभयो ।