07/08/2025, 14:54:34

समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली


रुपन्देही, २९ चैतः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताउनुभएको छ । पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गर्नुभयो ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

अध्यक्ष ओलीले भन्नुभयो, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छाैं । मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।”

उहाँले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गर्नुभयो । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौँ विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो ।

सभामा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्नेगरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र पार्टी नेतृत्वले गरेका कामबारे आफूहरू छलफल गर्न तयार रहेको भन्दै विपक्षी र प्रतिगामी पक्षहरूबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading