11/28/2025, 19:29:23
शुक्रबार, मङि्सर १२, २०८२

विश्वभरि पर्यटक आवागमन लगातार वृद्धि : संयुक्त राष्ट्र


मेड्रिड, मङ्सिर १२ गते । सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन लगातार बढ्दै गएको संयुक्त राष्ट्र पर्यटनले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ ।

संस्थाले आफ्नो त्रैमासिक पर्यटन सूचकमा उल्लेख गरेअनुसार, जनवरीदेखि सेप्टेम्बरसम्म १.१ अर्बभन्दा बढी मानिसले अन्तरदेशीय यात्रा गरेका छन्, जुन सन् २०२४ को त्यही अवधिको तुलनामा करिब ५ प्रतिशत बढी हो । एशिया-प्रशान्त क्षेत्रमा महामारीपछिको सुधार जारी रहँदा आगमन ८ प्रतिशतले बढेको छ । यद्यपि यो सङ्ख्या सन् २०१९ का स्तरभन्दा अझै करिब १० प्रतिशत कम छ ।

अफ्रिकामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ-उत्तर अफ्रिकामा ११ प्रतिशत र सहारा दक्षिण अफ्रिकामा १० प्रतिशत वृद्धि दर्ता भएको छ । युरोप विश्वकै सबैभन्दा ठूलो गन्तव्य क्षेत्र रहँदै, सन् २०२५ को पहिलो नौ महिनामा ६२५ मिलियन पर्यटक भित्र्यायो, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत बढी हो ।

उत्तर अमेरिकामा करिब एक प्रतिशत कमी देखियो भने दक्षिण अमेरिकामा ९ प्रतिशत र मध्य अमेरिकामा ३ प्रतिशत वृद्धि दर्ता भएको छ । यी क्षेत्रमा केही लोकप्रिय गन्तव्यमा यात्रु माग बलियो देखिएको छ । संयुक्त राष्ट्र पर्यटनका महासचिव जुराब पोलोलिकासभिलीका अनुसार, “उच्च मूल्यवृद्धि तथा भू-राजनीतिक तनावका बाबजुद पनि यस वर्ष पर्यटक सङ्ख्या मात्र होइन, आम्दानीको हिसाबले पनि पर्यटन क्षेत्र अघि बढिरहेको छ । विशेष गरी अफ्रिका र युरोपले उल्लेखनीय उपलब्धि हाँसिल गरेका छन्,” उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्र पर्यटनले सन् २०२५ भरिमा विश्व पर्यटन ३ देखि ५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको छ । तर, भू-राजनीतिक अनिश्चितता र उच्च खर्चले क्षेत्रमा केही जोखिम कायम रहने चेतावनी पनि दिइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..