04/07/2025, 12:55:00

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय


नवलपरासी, २४ चैतः नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।

एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् । यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताउनुभयो ।

यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारबास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेका बताउनुभयो । दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन आउन थालेका जनाउँदै उहाँले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गर्नुभयो ।

सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताउनुभयो । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उहाँको भनाइ छ ।

पश्चिम नवलपरासी तराई–मधेस क्षेत्रमा पर्ने भएकाले भारतबाट नेपाल आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष उपाध्यायले धारणा राख्नुभयो । पुलको पूर्व र पश्चिमतर्फ मिठाइका परिकार, खाजा तथा चिया पसल, नदीबाट माछा मारेर ताजा परिकार पकाउने स्टल, व्यवस्थित सवारी पार्किङ लगायत व्यवस्था गरेर रोजगारीका अवसर थप्दै जाने उहाँले बताउनुभयो ।

झोलुङ्गे पुल निर्माण भएपछि सुस्तासहित आसपासका स्थानीय मोटरसाइकलबाट सहजै नरायणी नदी भएर आवागमन गर्न पाएपछि खुसी भएका छन् । पुल हेर्न आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ”, प्रतापपुर गाउँपालिकाका स्थानीय खुरसेद हजामले भन्नुभयो । एक वर्षअघि रु २३ करोड ६५ लाख ९८ हजार ८०७ लागतमा एक हजार ५७१ मिटर लामो उक्त पुल निर्माण भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ