04/07/2025, 05:11:47

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित


बरहथवा (सर्लाही), २४ चैत : चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेती तर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।

यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनित महतोले बताउनुभयो । तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाउनुभएका उहाँ विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटिनुभयो । विद्युतीकरणपछि खेतीपाती गर्न सहज भएको महतोको भनाइ छ ।

यसअघि खेतमा पानीको उपाय नै थिएन”, उहाँले भन्नुभयो, “पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्ने गरेको थिए ।” पम्पसेटबाट पानी तान्न खर्चिलो हुने उहाँको भनाइ छ । “पहिला यही खेतमा एकपटक पानी तान्न रु तीन हजारदेखि रु चार हजारसम्म डिजलको खर्च हुन्थ्यो”, महतोले भन्नुभयो, “अहिले त्यही लागतमा सिजनभरि (चारपटक) पानी तान्न पुग्छ ।

स्थानीय तहले दुई वर्ष अघि खेत खेतमा (कृषि विद्युतीकरण) पोल गाडेर बिजुली पुर्याएको थियो । त्यसयता महतोलगायत यहाँका एक हजार २३५ बढी किसानले कृषि मिटर जडान गरिसकेका छन् । सिँचाइको व्यवस्था नहुँदा अकासे पानीको भरमा गहुँ, मसुरो, चना, उखुलगायत खेती लगाउने गरेका चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताउनुभयो । यसरी गरेको खेतीमा लागत धेरै र उत्पादन थोरै हुँदा लागतसमेत नउठ्ने गरेको उहाँको अनुभव छ ।

यहाँका खेत प्राणबिनाका शरीरजस्तै बनिसकेका थिए”, साहले भन्नुभयो, “गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हराभरा बनेका छन् ।” अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको साहले बताउनुभयो । उहाँले दुई वर्षदेखि आफ्नो र ठेक्का गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गर्नुभएको छ ।

पानीको सुविधापछि तरकारीखेती फस्टाएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो । अहिले आफूसँग भएको दुई कठ्ठा खेतमा लगाएको तरकारी बिक्रीबाट पाँच जनाको परिवार पालनपोषण गर्न सकेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ । मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीलगायतको तरकारी प्रशस्त उत्पादन हुने गरेको महतोले बताउनुभयो ।

विद्युत् महसुल गाउँपालिकाले तिर्ने

चन्द्रनगर गाउँपालिकाकाले किसानको खेत खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर वितरण गर्नेमात्र नभई किसानले सिँचाइ गर्दा उठेको विद्युत् महसुलसमेत आफैँले तिरिदिने गरेको छ ।

आफ्नो पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेकाले उहाँहरूलाई सुविधा पुर्याउने उद्देश्यले योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताउनुभयो । यसले नागरिकको जीवनस्तर सुधारमा मद्दत पुगेको उहाँको भनाइ छ । नजिकै खोला, नहरलगायत सिँचाइ व्यवस्था नभएका कारण किसान समस्यामा परेका उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनभित्रमा विद्युत् महसुल भुक्तानी गरिने अध्यक्ष महतोले बताउनुभयो । कृषि विद्युतीकरणपछि गाउँपालिकाका किसानले बाँझो छाडेको खेतबाट समेत मनग्य उत्पादन लिन थालेका छन् । यसरी प्रदान गरिएको कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिने कृषि प्रविधिकको भनाइ छ ।

कृषि विद्युतीकरणबाट विगत दुई वर्षमा मात्र यस पालिकाको नौ हजार बिघा खेत सिँचाइ गर्न सकिएको थियो । आगामी दिनमा पालिका क्षेत्रमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताउनुभयो । यसअघि पालिकामा कृषि सिँचाइका लागि पोखरी निर्माण गरेर वर्षात्मा जमेको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ