राजविराज (सप्तरी), २१ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको आन्दोलनले वंशवादमा आधारित शासन व्यवस्था हटाइसकेकाले फेरि त्यसको सम्भावनाको कुरा गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
आज राजविराजमा पार्टीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्थाअनुसार पार्टी खोलेर आउने बाटो खुल्ला रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनबाट बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागू गर्ने व्यवस्था सुनिश्चित रहेको भन्दै वंशवादको विगततर्फ फर्किने सपना नदेख्न आग्रह गर्नुभयो ।
राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफूसमेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको भन्दै उहाँले चैत १५ गते काठमाडौँमा भएको पूर्वराजा पक्षधरको प्रदर्शनले पनि त्यसलाई ताजा बनाएको धारणा राख्नुभयो । “पूर्वराजा ज्ञानेन्द्र पक्षधर र गठतन्त्रवादी समाजवादी मोर्चाको कार्यक्रम एकैदिन भयो तर त्यहाँ हेर्नुस् न के के भयो । हजारौँ गणतन्त्रवादी नागरिक सहभागी भएको कार्यक्रम सभ्य भयो तर थोरै सङ्ख्यामा रहेका व्यवस्था विरोधीहरुले लुटपाट, आगजनी र तोडफोड गरेर आफ्नो विगत सम्झाए”, अध्यक्ष नेपालको भनाइ थियो ।

पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी उपाध्यक्ष धर्मनाथप्रसाद साह, मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












