बैतडी, २१ चैत : बैतडीकी घर भएकी महिला क्रिकेट खेलाडी ऋतु कनौजियाले ‘स्पेशल अवार्ड’ जितेकी छिन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा धनगढीमा सम्पन्न ‘छैठौँं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड–२०८१’ मा ऋतुले ‘स्पेशल अवार्ड’को उपाधि जितेकी हुन् ।
अवार्डसँगै ऋतुले रु २५ हजार पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । लामो समयदेखि सक्रिय रूपमा खेलकुद क्षेत्रमा योगदान दिइरहेका खेलाडीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । ऋतुले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै क्रिकेटमा आफूले गरेको योगदानको कदर गरिएको बताइन् । उनले भनिन्, “यो अवार्डले मलाई अझै क्रिकेटमै लागिरहन प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टोलीबाट खेलेर सन्यास लिने सोचमा छु ।”
कनौजिया नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । ऋतुले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानीसमेत गरिसकेकी छिन् । दशरथचन्द नगरपालिका–४ गढी घर भएकी कनौजिया अहिले पनि राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी छिन् । यसका साथै उनले स्थानीय खेलाडीलाई प्रशिक्षण समेत दिइरहेकी छिन् ।

सन् २००७ मा मलेसियामा भएको एसिसी वुमन्स क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डसँग पहिलो पटक अन्तरराष्ट्रिय खेल खेलेको थियो । उक्त प्रतियोगितामा नै ऋतुले अन्तरराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी थिइन् । विसं २०३९ मा जन्मिएकी ऋतुले १५ वर्षदेखि नै क्रिकेट खेल्न थालेकी हुन् । जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै नेपालको टोलीको कप्तानी गरेर अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेकी ऋतु अहिले घरेलु क्रिकेटमा सक्रिय छिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









