09/11/2025, 03:44:24
बुधबार, भदौ २५, २०८२

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ


काठमाडौँ, १८ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।

एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उहाँले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । “आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वायरलेस प्रविधि नेपाल जस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ ।”

उहाँले नेपाललाई क्षेत्रीय आइटी केन्द्रका रुपमा विकास गर्न एपिटीसँग सहकार्य जरुरी भएको बताउनुभयो । उहाँले नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवद्र्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न तयार रहेको समेत बताउनुभयो ।

त्यस अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।

एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेशन र यसका बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताउनुभयो । उहाँले ती विषयमा १२ वटा सिफारिस र १८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..