12/17/2025, 23:05:48
बुधबार, पुष ०२, २०८२

अर्थ मन्त्रालयद्वारा निर्वाचनको बजेट वृद्धि, आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ


काठमाडौँ, २ पुस : अर्थ मन्त्रालयले  प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि स्वीकृत गरेको बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । निर्वाचन प्रयोजनका लाग मागेको अनुमानित बजेटमा ठूलो कटौती गरिएपछि आयोगले त्यसमा पुनरावलोकनका लागि पत्राचार गरेको थियो ।

आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले मागिएको बजेटमा झन्डै ४० प्रतिशतले कटौती गरेपछि आयोगले असन्तुष्टि जनाएको थियो । अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको थियो ।

उक्त बजेटले निर्वाचन कार्यक्रमहरु सञ्चालन गर्न नपुग्ने भन्दै त्यसमा संशोधन गर्न आयोगले सरकारलाई पत्राचार गरेको थियो । पछिल्लो पटक अर्थ मन्त्रालयले १ अर्ब ७७ करोड रुपैयाँ आयोगलाई थपेर बजेट पठाएको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले ६ अर्ब ७३ करोड रूपैयाँ बजेट प्राप्त गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बजेट संशोधन भएर आएको बताए । आयोगले मितव्ययी तरिकाले निर्वाचन खर्च गर्ने रणनीति लिएको उनले बताए ।

नपुग भएको स्थितिमा थप बजेट माग्ने र बढी भएमा विगतको जस्तै सरकारलाई फिर्ता गरिने उनले उल्लेख गरे । आयोगले विभिन्न ४९ वटा शीर्षकमा बजेट खर्च हुने अनुमान गरेको छ । विनियोजित बजेटलाई ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई पठाउने कार्य आयोगले गरिरहेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक ३७ वटा सामग्री जिल्ला निर्वाचन कार्यालयलाई खरिदको जिम्मा दिएको छ । १४ प्रकारका समाग्रीको व्यवस्थापन आयोगबाटै गरिँदैछ ।

– राजेश मिश्र