12/17/2025, 23:09:49
बुधबार, पुष ०२, २०८२

दरबारमार्ग जग्गा प्रकरण : पूर्वसचिव कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ, २ पुस : नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रा.लिलाई ३० वर्ष लिजमा दिने निर्णयमा फेरबदल गरेर ठगी गरेको आरोपमा पूर्वसचिव अर्जुन कार्कीसहित ४ विरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, काठमाडौंमा नेपाल ट्रस्टका तत्कालीन सचिव कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रा.लिका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ प्रा.लिविरुद्ध मुद्दा दायर भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । सीआईबीले पठाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा चाहिँ संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा समेत प्रतिवादी बनाउन माग दाबी गरिएको थियो ।

थामसेर्कुले पहिले गरेको प्रस्ताव विपरीत सम्झौता गराएर हानी पुर्‍याएको भन्दै उनीहरुविरुद्ध चार अर्ब ८६ करोड २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, कित्ता नम्बर ४६०५ को बाटोको जग्गा प्रयोग गर्न दिएबापत ५३ लाख २४ हजार रुपैयाँ समेत बिगो थप गरिएको छ । पहिले कित्ता नं. ४६०६ को हकमा सम्झौता हुँदा ३ तला निर्माण गर्ने उल्लेख भए पनि पाँचौ तलासम्म निर्माण भएपछि थप तिर्नुपर्ने ३८ करोड ८४ लाख ५३ हजार ४३० रुपैयाँ पनि भराउन माग दाबी गरिएको छ ।

नेपाल ट्रस्टलाई हानी हुने गरी करार सम्झौता गराएर ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले २१ कात्तिकमा पूर्वसहसचिव लेखबहादुर कार्की र ३० कात्तिकमा पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानका क्रममा थामसेर्कु ट्रेकिङका सञ्चालक लाक्पा सोनाम शेर्पालाई समेत पक्राउ गर्न अदालतबाट पुर्जी लिएको थियो । तर, उनले त्यहीबीचमा उच्च अदालतबाट पक्राउविरुद्ध निषेधाज्ञाको निवेदन दिए र आफ्नो पक्षमा आदेश पाए । त्यसविरुद्ध सीआईबीले भ्याकेटको निवेदन पनि दिएको थियो ।

यद्यपि, अहिले अनुसन्धान सकेर पूर्वसहसचिव, पूर्वसचिव र शेर्पालाई प्रतिवादी बनाउन सिफारिस गर्दै सीआईबीले प्रतिवेदन बुझाएको थियो ।

नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । त्यसको करिब २ वर्षपछि जग्गा लिजमा दिन सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरिएको थियो । त्यसक्रममा नारायणहिटी दरबार अगाडिको एक रोपनी १४ आना जग्गा भाडामा लिन थामसेर्कुले ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर, २४ फागुन २०७३ मा निवेदन लेख्दै त्यति ठूलो रकम दिन नसक्ने भन्दै पुरानो प्रस्तावलाई घटाएर १ अर्ब ४० करोड रुपैयाँ दिने प्रस्ताव गरेको थियो ।

त्यसबेला प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः स्टिल इन्डस्ट्रिज प्रा.लिले ६२ करोड २४ लाख ५८ हजार र आद्रिसिय–लियानज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए । त्यही थाहा पाएपछि थामसेर्कुले आफ्नो प्रस्ताव घटाएको पाइएको अधिकृतहरूको निष्कर्ष छ ।

मूल्यांकन समितिले थामसेर्कुले गरेको ६ अर्ब २६ करोड रुपैयाँको प्रस्तावपछि सम्झौता गर्न बोलाउँदा थामसेर्कुले दिएको निवेदन नेपाल ट्रस्टको कानुन शाखासम्म पुगेको थियो । तर, त्यसबेला कानुन शाखाका तत्कालीन कानुन उपसचिव पुरुषोत्तम खतिवडाले २० चैत २०७३ मै थामसेर्कु ट्रेकिङको जमानतसमेत जफत भन्दै टिप्पणी लेखेर पेस गरेका थिए । सीआईबीले यो पत्रलाई समेत प्रमाणका रूपमा पेस गरेको थियो ।