सोमबार, फागुन १९, २०८१

पर्यटनको सम्भावना बोकेको पाल्पाको घाङ्चो छहरा ओझेलमा


रामपुर (पाल्पा), १८ फागुन : बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।

यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउनुहुन्छ । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उहाँले बताउनुभयो ।

गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन”, सुनारीले भन्नुभयो, “यसको प्रचारप्रसारको आवश्यकता छ, यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ, यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ ।

पर्यटनको सम्भावना बोकेको सो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोडे यो पर्यटकीय गन्तव्यस्थल बन्छ । करिब ३० मिटरभन्दा बढी उचाइ रहेको सो झरना २० मिटरसम्म फैलिएको छ । झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ ।

बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ । बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदलयात्रा गरेपछि उक्त झरनामा पुगिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहलकदमी थालेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुरगाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ । अब त्यहाँसम्म पुग्न पैदलमार्ग (सिँढी) निर्माण गरिँदै छ । झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । चालु आर्थिक वर्षमा झरनाको प्रवर्द्धन र पर्यटन विकास गर्न रु एक लाख बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अग्लो स्थानबाट बेगले झरेको झरनाबाट मनलाई आनन्दित बनाउँछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ