काठमाडौँ, १३ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताउनुभएको छ । आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दैै उहाँले अहिलेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताउनुभयो ।
विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो । मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताउनुभयो । उहाँले आफूले स्वास्थ्य बिमा चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताउनुभयो ।
“मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिक आधारित बिमा बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ ।” उहाँले स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पौडेलले बिमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिनुभयो । मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताउनुभयो ।
कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गर्नुभयो ।
अस्पतालका निर्देशक डा.विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम थापाले आफ्नो वडामा २६ वटा सरकारी र नीजि अस्पताल सञ्चालन रहेको भन्दै पुनः सञ्चालनमा आएको यस अस्पतालले बिरामीलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।
सभासद् विना ज्ञवालीले अस्पतालले बिरामीको भावनालाई बुझेर उपचार गर्नुपर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले नयाँ व्यवस्थापनका साथ अस्पताल अहिले सय शैय्यामा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले अहिले नयाँ व्यवस्थापनका साथ अस्पताल सञ्चालनमा ल्याएको छौँ । अहिले ३० जना कर्मचारीबाट अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गरेका छाँै” उहाँले भन्नुभयो, “विस्तारै कर्मचारी थप्दै जाने र अस्पताललाई सय शैय्याको पूर्ण रूपमा सञ्चालन गर्ने छौँ ।”
अस्पतालले आजदेखि निःशुल्क बहिरङ्ग सेवा सञ्चालन गरेकोछ । अस्पतालका प्रशासन प्रमुख शोभा श्रेष्ठले जनरल, मिर्गौलाको डायलासिस, सिटी स्क्यान, बच्चाको उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।
महेन्द्रनारायण निधि मेमोरियल सहकारी संस्थाबाट पुनःसञ्चालनमा ल्याइएको अस्पतालले अहिले नर्सिङ कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा अस्पतालको प्राङ्गणमा रहेको महेन्द्रनारायण निधिको शालिकमा स्वास्थ्य मन्त्री पौडेल र कांग्रेसका पूर्वउपसभापति निधिले माल्यार्पण गर्नुभयो ।