शुक्रबार, फागुन ०९, २०८१

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…


बरहथवा (सर्लाही), ९ फागुनः हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।

लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उहाँले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताउनुभयो । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उहाँले सुनाउनुभयो ।

ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाउनुभएको छ । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोल्नुभएका उहाँले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भन्नुभयो । “यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ,” विपन्न परिवारका उहाँले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गर्नुभयो ।

शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा एक सय ७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ ।

मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ । शिविरमा दुई सय ७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये एक सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ