बिहिबार, फागुन ०८, २०८१

युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदीमा वार्ता


काठमाडौँ, ७ फागुन :  रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र अमेरिकाबीच साउदी अरबमा मंगलबार भएको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्चस्तरीय वार्ता गर्ने सहमति भएको जनाएको छ ।

दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरु भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका हुन् । वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र युरी उसाकोभ सहभागी भएका हुन् । उसाकोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार हुन् । अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए ।

त्यस्तै, वार्तामा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी थिए । अमेरिकाले आजको वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए/नभएको विषय निर्धारण गर्ने पहिलो कदम भएको बताएको छ । रुसले भने अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने आशा राखेको देखिन्छ ।

वार्तामा युक्रेनी पक्षलाई भने सहभागी गराइएको थिएन । तर वार्तापछि पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । ‘यी वार्ताहरूबाट अमेरिका, युरोप, युक्रेन र समग्र विश्वबाट केही सकारात्मक कुरा निस्कन सक्छन्,’ उनले भनेका छन्, ‘तर पहिला यो द्वन्द्वको अन्त्यबाट सुरु हुन्छ ।’ युक्रेनको सहभागिताबिना हुने कुनै पनि वार्ता अमान्य हुने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाइलाई लक्षित गर्दै रुवियोले यस्तो बताएका हुन् । यसअघि जेलेन्स्कीले ‘युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने’ बताएका थिए ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले वार्तामा दुवै देशले राजदूतहरू नियुक्त गर्ने विषयमा सहमति भएको जनाएका छन् । ‘पहिले अमेरिकाले प्रतिनिधि नियुक्त गर्नेछ । त्यसपछि हामीले नियुक्त गर्नेछौं,’ लाभरोभले बीबीसीसँग भने, ‘यो निकै उपयोगी कुराकानी थियो, हामीले एकअर्काको कुरा सुन्यौं ।’ साउदीमा वार्ता चलिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्की भने टर्कीको राजधानी अंकारा पुगेका छन् । उनले टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग भेटवार्ता गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता जेलेन्स्की तेस्रोपल्ट टर्की पुगेका हुन् । त्यसक्रममा जेलेन्स्की पत्नी ओलेना जेलेन्स्कासँगै युक्रेनी दूतावास भवनको उद्घाटन समारोहमा पनि सहभागी भएको बीबीसीले जनाएको छ । चीनले भने साउदीमा जारी वार्तामा सबै पक्ष सहभागी हुने आशा व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘शान्तिका लागि भएका प्रयासले खुसी भएको’ बताउँदै उचित समयमा सबै पक्षहरू शान्ति वार्तामा सहभागी हुन सक्ने’ बताएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘युरोपको सेना’ निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । गत शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भाषणले युरोप र अमेरिकाबीचको पुरानो सम्बन्ध समाप्त भइरहेको र युरोपले समयमै त्यसलाई बुझ्न आवश्यक भएको बताएका थिए । म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिका र युरोपेली नेताहरूबीच चर्को मतभेद भएको थियो । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति भान्सले युरोपेली लोकतन्त्रको कडा आलोचना गरेका थिए । उनले ट्रम्प प्रशासनको भनाइ दोहोर्‍याउँदै ‘आफ्नो रक्षाका लागि युरोपले कदम चाल्नुपर्ने’ बताएका थिए । सम्मेलनको साइडलाइन वार्तामा जेलेन्स्कीले शुक्रबार भान्स र रुबियोसँग भेटवार्ता गरेका थिए ।

अमेरिका र रुसले वार्ता गरेसँगै युक्रेनको प्रतिरक्षामा एकजुट भएका युरोपेली नेताहरूले सोमबार फ्रान्सको पेरिसमा आपत्कालीन शिखर सम्मेलन गरेका छन् । उनीहरूले युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि शान्ति वार्ता नहुने बताएका हुन् । सम्मेलनमा फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्कका नेताहरू सहभागी भएका थिए ।

किन भयो साउदीमा वार्ता ?

पछिल्लो समय साउदी अरबले विश्व समुदायमा आफ्नो प्रभाव र नेतृत्वदायी भूमिका बढाउँदै गएको छ । खासगरी खेलकुद र मनोरञ्जन क्षेत्रमा साउदी अरबले विश्व मञ्चमा प्रमुख खेलाडी बन्ने आफ्नो महत्त्वाकांक्षालाई अगाडि बढाउन ठूलो मात्रामा पैसा खर्च गरेको छ । त्यसका साथै साउदी नेतृत्वले कूटनीतिक रूपमा पनि आफ्नो भूमिका बढाउँदै गएको छ । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनमा भने साउदी अरब आफ्नो प्रमुख अन्तर्राष्ट्रिय सहयोगीका रूपमा अमेरिकी निर्भरताबाट केही टाढियो । त्यसका साथै साउदीले रुस र चीन जस्ता अमेरिकाका प्रमुख प्रतिद्वन्द्वी देशहरूसँग घनिष्ट सम्बन्ध स्थापित गर्दै आफ्नो हितलाई पहिलो र प्रमुख मुद्दाका रूपमा अघि बढायो ।

तर अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै भने साउदीको अमेरिका नीतिमा परिवर्तन आउने देखिएको छ । तर अझै पनि साउदीको मानवअधिकार रेकर्डलाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा कहिलेकाहीं विवाद र आलोचना हुने गरेको छ । तर पनि विश्वव्यापी कूटनीतिमा एक अब्बल खेलाडी बन्ने आफ्नो महत्त्वाकांक्षामा भने साउदीले लगाम लगाउने कुनै छनक देखिँदैन ।

जेलेन्स्कीसँग वार्ता गर्न पुटिन तयार

युक्रेन युद्धबारे रुस र अमेरिकी प्रतिनिधिबीच साउदी अरबमा वार्ता सुरु भएसँगै रुसले आवश्यक परेको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाएको छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आवश्यक पर्‍यो भने पुटिनले नै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘तर जेलेन्स्कीको वैधानिकतामा प्रश्न उठाउन सक्ने वास्तविकतालाई ध्यानमा राख्दै सम्झौताहरूको कानुनी आधारमा छलफल आवश्यक छ,’ उनले भनेका छन् । तीन वर्षदेखि युक्रेनसँग जारी युद्ध अन्त्य गर्ने विषयमा रुसले अमेरिकी प्रतिनिधिहरूसँग मंगलबार वार्ता सुरु गरेको हो ।

क्रेमलिन प्रवक्ता पेस्कोभले पत्रकारहरूसँगको कुराकानीमा युरोपेली संघमा आबद्ध हुने विषय रुस–युक्रेनको निर्णय भएको र यसले रुसको सुरक्षामा कुनै खतरा उत्पन्न नहुने बताएका छन् । ‘यो कुनै पनि देशको सार्वभौम अधिकार हो । कुनै पनि देशले अर्को देशलाई केही गर्न सक्दैन । हामीले त्यसो गर्न खोजेको पनि होइन,’ उनले भने । तर सुरक्षा, रक्षा वा सैन्य गठबन्धनको विषयमा भने रुसले कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

यस मामिलामा हाम्रो अडान पूर्णतया फरक छ । त्यहाँ अर्को मुद्दा छ र यो सबैलाई थाहा छ,’ पेस्कोभले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुसी राष्ट्रपति पुटिनको भेटबारे थप प्रगति नभएको उनको भनाइ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ