शुक्रबार, फागुन ०९, २०८१

एडल्ट ड्रामा चलचित्र ‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शनमा


काठमाडौँ, १ फागुन : यौन स्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को आज काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ ।

प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रसंशा गरे । शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिने तयारी छ । यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उहाँले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाउनुभएको छ । यस पात्रका लागि उहाँले कविको पृष्ठभूमि तयार गर्नुभएको छ ।

चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।

अभिनेत्री आँचल शर्माले यौन स्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताउनुभयो । “हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।

एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ