शुक्रबार, फागुन ०९, २०८१

नेपथ्यको अस्ट्रेलिया टूर घोषणा, क्यानबेराबाट टूर सुरु हुने


काठमाडौं । अमेरिका टूरको ६ महिनापछि लोकपप सांगीतिक समूह नेपथ्यले अस्ट्रेलिया टूर घोषणा गरेको छ । १९ फागुन (३ मार्च)मा अस्ट्रेलियाली राजधानी क्यानबेराबाट टूर सुरु हुने जनाइएको छ । नेपथ्यले वेब-साइटमार्फत टूर घोषणा गरेको हो । क्यानबेरापछि पर्थमा ९ मार्च, ब्रिसबेनमा १४ मार्च, होबर्टमा १८ मार्च, एडिलेडमा २१ मार्च, मेलबर्नमा २४ मार्च र २९ मार्चमा सिड्नीमा ब्याण्डले प्रस्तुति दिनेछ ।

अस्ट्रेलिया टूर घोषणापछि नेपालीको बाक्लो बसोबास रहेको त्यहाँ प्रशंसक उत्साहित छन् । गत साउन तेस्रो साता ब्याण्डले कोलोराडोबाट अमेरिका टूरको थालनी गरेको थियो । नेपथ्यको लाइनअपमा मुख्य गायक अमृत गुरुङसहित ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।

श्रोता दर्शकको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीत छनोट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्,  ‘त्यहाँका दर्शकलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ ।

नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफूलाई उभ्याइसकेको छ ।

नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अष्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्,  ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउनेछ ।

अष्ट्रेलियाका सबैजसो कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । सबै शोको बुकिङसमेत खुला भइसकेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ