काठमाडौं । फिल्म ‘पिताम्बर’ को गीत ‘म त फ्यान भएँ’ युट्युवमा सार्वजनिक भएको छ । गीत रिलिज गर्न मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द, अविरलको संगीत छ । तराईको सेट बनाएर छायांकन गरिएको गीतमा कलाकार प्रदीप खड्का र दिव्या रायमाझी फिचर्ड छन् ।
राधाकृष्णको जोडीको रुपमा सजिएका यी दुई कलाकारलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । कोरियोग्राफी र सेटको साजसज्जाले दृश्यलाई आकर्षक तुल्याएको छ । डान्सिङ ट्रयाकमा प्रदीप र दिब्याको ‘केमेस्ट्री’ पनि मिलेको देखिन्छ । १०० भन्दा धेरै कोरसले नृत्य गरेका छन् । पहिलोपटक प्रदीप कोरससहित नृत्य गर्दैगर्दा देखिएका हुन् । कलाकार र कोरसको पहिरनलाई सेटको थिम अनुसार प्रस्तुत गरिएको छ ।
यी दुई कलाकार पछिल्लोपटक ‘एक्टर : टेक वन’मा पनि जोडीको भूमिकामा देखिएका थिए । रिलिजको हिसाबले ‘पिताम्बर’ दिब्याको दोस्रो फिल्म हुनेछ । निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो । ‘तराईंको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं’ उनले भने ।
गीतमा अन्य कलाकार प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्यदेव, आध्या लामिछाने र सुप्रोल बुढाथोकीको पनि अभिनय छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । उनले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरेकी छन् । ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।