शुक्रबार, फागुन ०९, २०८१

हमासले बन्धक रिहाइ रोक्ने बताएपछि ट्रम्प आक्रोशित


वासिङ्टन/जेरुसलेम — प्यालेस्टिनी समूह हमासले बन्धकको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दी रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका ३ जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो ।

त्यसपछि रुस्ट ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका हुन् । उनले बन्धक रिहा नगरिए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएको सीएनएनले जनाएको छ । ‘मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू सबै फर्कनुपर्छ । किस्ता किस्तामा गरेर होइन,’ ट्रम्पले भनेका छन्, ‘मैले मेरो विचार राखेको हुँ । इजरायलले यसलाई सच्याउन पनि सक्छ ।’

हमासको नियन्त्रणमा अझै ७६ जना छन् । तीमध्ये ७३ जनालाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणसँगै बन्धक बनाएर लगेको थियो । ७३ मध्ये एक नेपाली विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । ३ जना भने एक दशकअघिदेखि नै हमासको नियन्त्रणमा छन् ।

इजरायली रक्षामन्त्री इजरायल कात्सले बन्धकको रिहाइ रोक्नु युद्धविरामको पूर्ण उल्लंघन भएको बताएका छन् । उनले सेनालाई सतर्क अवस्थामा रहनसमेत निर्देशन दिएका छन् । ‘गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायको सुरक्षाका लागि उच्च सतर्कतामा रहन आदेश दिएको उनको भनाइ छ । ‘हामी ७ अक्टोबरको वास्तविकता फर्कन दिने छैनौं,’ उनले भनेका छन् ।

तर इजरायले युद्धविराम सम्झौताअनुसार आफ्नो दायित्व पूरा गरेको खण्डमा भने शनिबार हुने बन्दी आदानप्रदानको ढोका खुला रहने हमासले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार हमास प्रवक्ता अबु ओबेदाले इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका छन् ।

हमास र इजरायलबीच १९ जनवरीदेखि युद्धविराम सुरु भएको थियो । त्यसयता १६ इजरायली र ५ जना थाई बन्धक रिहा भएका छन् । त्यसको बदलामा इजरायली जेलमा रहेका ५ सय ६६ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ ।

तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने सहमति भएको थियो । त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सम्झौतामा उल्लेख छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार ३३ मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरु भएको १६ दिनपछि वार्ता हुने उल्लेख छ । तर वार्ता भने सुरु हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ । तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ