04/03/2025, 02:33:15

सरकार दमनको बाटो हिँड्दै छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निरंकुशतातिर जान खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै दाहालले सकार नागरिकमाथि दमनको बाटोतिर अघि बढेको बताए ।

पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’  उनले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी विधेयकको विरोध गरे, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा-कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?

प्रचण्डले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसद्‍मा अहिले दर्ता भएको विधेयक आपत्तिजनक भएको समेत बताए । ‘सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ,’  उनले थपे,  ‘यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिबानाको तरबार झुन्ड्याइएको छ । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ?

अध्यक्ष प्रचण्डले पाथिभरामा केबलकारको विरोध गर्नेमाथि गोली चलाएर दमनमा उत्रिएको बताए । ‘पाथिभरा केबलकारको विवादमा तपाईंहरूले सिधै जनतालाई गोली चलाउनुभयो । पाथीभरा र मुकुम्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईंहरूले नागरिकलाई नियन्त्रणमा लिनुभयो,’  उनले भने, ‘सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो । अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ । यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नागरिक दास हो ?