बिहिबार, माघ ०३, २०८१

सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन


काठमाडौँ, ३ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।

जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्”, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भन्नुभयो, “पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।

कांग्रेस सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गर्नुभयो । बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो ।

सभापति देउवाले सम्बन्ति मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी दिनुभएको थियो । उहाँले संसद् अधिवेशन सुरु हुनुपूर्व सम्बन्धित मन्त्रालयअन्तर्गतका कानुन कहाँ पुगेर अड्किएका छन् सोकोे टुङ्गो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार आजको भेटमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको छ । विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुङ्गोमा पु¥याउन सक्रियताका साथ कार्य गर्ने, आ-आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउनुपर्नेलगायत विषयमा छलफल गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेटमा परेर पनि स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण सुरु भएर अपेक्षित गतिमा काम नभइरहेका विकास आयोजना सम्पन्न गर्न÷गराउन आवश्यक पहलकदमी लिने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।

सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसद्को चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको छ ।

सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिनुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसकातर्फबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको काम, आइपरका समस्या र गुनासोबारे सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading