बुधबार, माघ ०२, २०८१

डोनाल्ड ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह


काठमाडौँ, २ माघः  इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ ।

ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भन्नुभयो, “मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।

वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको थियो । इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भन्नुभयो, “हामी कुनै पनि कदमको जवाफ दिनेछौं । ‘हामी युद्ध चाहँदैनौँ अनि युद्धसँग डराउँदैनौँ पनि’ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्तिहरू आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताउनुभएको छ ।

सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा तेहरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने सम्झौता भएको थियो । ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेको थियो।

तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन । पेजेस्कियानले भन्नुभयो, “हामी आणविक हतियार वा अन्य हतियार बनाउन चाहँदैनौं तर उनीहरूले हामीमाथि आणविक बम बनाउन खोजेको आरोप लगाएका छन् ।

एनबीसी न्यूजकी प्रस्तोता लेस्टर होल्टले ट्रम्प सत्तामा फर्किएपछि उहाँसँग वार्ता गर्न सकिने सम्भावनाबारे सोधेको प्रश्नमा इरानी नेताले यो सम्भावना अहिलेसम्म नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समस्या संवादमा छैन, प्रतिबद्धतामा छ । यो वार्ता र संवादका क्रममा हुने प्रतिबद्धताहरूमा निर्भर हुन्छ।

अमेरिकालाई सङ्केत गर्दै पेजेस्कियानले भन्नुभयो, “वार्ताको अर्को पक्षले आफ्नो वाचा र दायित्वहरू पूरा नगरेपछि इरान पनि पछि हट्न बाध्य हुनुपरेको हो।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading