काठमाडौँ, १७ पुसः चर्चित लोकपप ब्याण्ड कन्दराले अंग्रेजी नयाँवर्षको अवसरमा बुधबार प्रतीक्षित गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक गरेको छ । विश्वब्यापी सांगीतिक टूर थाल्नुको ३ दिनअघि ब्यान्डले गीत ल्याएको हो ।
शब्द तथा सङ्गीत ड्रमर सुनिल थापाले तयार पारेका छन् । गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गरिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन नागरिकले सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिएको छ । गीतमा विवेक श्रेष्ठको स्वर समावेश छ । गिटारमा देव लामा, बासमा पंकज झा, किजमा उमेश थापा, पर्सुएसनमा अविनाश गायक, एरेन्जमा हरि महर्जन छन् । भिडियो निर्देशन केदार भुसालले गरेका हुन् । कला निर्देशन सन्तोष देवकोटाको छ ।
तृतीय पुरुषको शैलीमा लेखिएको यो गीतले आशाको सकारात्मक सन्देश फैलाउने विवेकले बताए । गीतलाई कुनैपनि विद्युतीय बाजाको प्रयोग नगरी एकस्टिक रेकर्डिङ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गीतमा हस्ताक्षर गरेका थिए ।
लामो समयपछि जुर्मुराएको कन्दराले हालै पोखरा र काठमाडौंमा भव्य पुनरागमन कन्सर्ट गरिसकेको छ । १६ फागुनमा इलाममा गुञ्जिने ब्याण्डको तयारी छ । बुटवल र चितवनमा कन्सर्ट मिति तय हुन बाँकी छ । ४ जनवरीपछि ब्याण्डले बेलायतदेखि अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्दैछ । ब्याण्डले मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई-अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट-सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
कन्दरा ब्याण्ड ‘लेककी हे माया’, ‘बिदेशिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’जस्ता हिट गीतका लागि परिचित छ ।