धुलिखेल (काभ्रेपलाञ्चोक), १३ पुसः बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालले बाढीपहिरोबाट क्षति पुगेका आयोजनाको पुनःनिर्माण गर्न तीनै तहका सरकार, निजी क्षेत्रलगायत सङ्घसंस्थाको समन्वयमा योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पनौती नगरपालिकाको आयोजना तथा काभ्रे सेवा समाजको सहयोगमा आज पनौतीमा आयोजित ‘रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पुनःनिर्माण गर्दा सबैको हातेमालो र समन्वय आवश्यक रहेकामा जोड दिनुभएको हो ।
प्रदेशको नीति तथा योजना आयोगले समग्र विकास निर्माणको लक्ष्य निर्धारणको काम गर्ने भन्दै आयोगका उपाध्यक्ष नेपालले आयोगले सबै मन्त्रालयका महाशाखालाई जिम्मा दिएर काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले विपद्पछिको पुनःनिर्माणलाई अगाडि बढाउन अध्ययन भइरहेको भन्दै यसको मस्यौदा तयार भएको जानकारी दिनुभयो ।
मस्यौदामाथि प्राप्त सुझावलाई समेटेर अध्ययन गरी पूर्णता दिने कामलाई अगाडि बढाइने नेपालको भनाइ छ । जलवायु परिवर्तनका असरलाई कसरी रोक्ने भन्दा पनि कसरी घटाउने र बच्ने भन्ने विषय महत्वपूर्ण भएकाले सोहीअनुसारको पूर्व तयारी हुन आवश्यक रहेकामा जोड दिनुभयो । “जिल्लाको सन्दर्भमा सबै पालिकाका प्रमुख बसेर छलफल गरी योजना तयार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
अब बन्ने बजेटमा प्रदेशको गौरवका योजना के छन् भन्ने विषयमा प्रदेशसभा सदस्यसँग बसेर छलफल गर्ने, परिवर्तनका लागि ठूला योजनालाई मात्रै प्रदेश र सङ्घले गर्ने, साना योजना पालिका तहले गर्नेगरी अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले रोशी खोलाको तटिय क्षेत्र र प्राचीन स्मारक क्षेत्रको संरक्षणका लागि योजना बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । स्वच्छ खानेपानीको माग दिनानुदिन बढिरहेको अवस्थामा दीर्घकालीन महत्वका साथ योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
जलवायुमा हुने उतारचढावका कारण जलाधार क्षेत्रको संरक्षण जरुरी भइसकेकाले रोशी, लीलावती, पुन्यमाता खोला बेथानचोकबाट आउने खोला, नमोबुद्ध र रोशी गाउँपालिकाबाट आएको खोलाहरूको अध्ययन गरी संरक्षण गर्ने योजना बनाउन सबैबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विकासका लागि साझेदारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै रोशी खोलासँग प्रत्यक्ष जोडिएका पालिकाको साझा मुद्दाका रूपमा फूलचोकीबाट नेपालथोकसम्म क्षेत्रको संरक्षणका लागि व्यवस्थित योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले खानी सञ्चालन तथा पानीको संरक्षण गर्न विस्तृत एकीकृत योजना बनाएर प्रदेश सरकारलाई पेस गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
काभ्रे सेवा समाजका पुरुषोत्तम नेपालले रोशी जलाधार क्षेत्रका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वयात्मक प्रसायको खाँचो रहेको बताउनुभयो । रोशी जलाधार क्षेत्रमा रहेका सबै स्थानीय तह, बागमती प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय र सहकार्य गरी रोशी जलाधार क्षेत्रको दिगो व्यवस्थापन र स्रोतको बहुउपयोग योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेश योजना र जिल्ला समन्वय समितिको समन्वयमा सबै तहका सदस्य रहने गरी समन्वय समिति बनाउने तथा लागत सहभागितामा परियोजना विकास अगाडि बढाउनुपर्नेमा नेपालले जोड दिनुभयो ।
भू–उपयोग योजना, जलाधारको संरक्षण, बाढी व्यवस्थापन, पहिरो व्यवस्थापन, निर्माण सामग्री उत्खनन तथा खानी क्षेत्र व्यवस्थापन, वातावरण संरक्षण र भौतिक पूर्वाधारको स्तरीकरण गर्नका लागि प्राविधिक सहयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारको खोजी गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकसहित पनौती नगरपालिका, रोशी गाउँपालिकाका जनप्रतिनिधि र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।