दाङ, भदौ ७ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताउनुभएको छ । शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य भएको बताउनुभयो ।
‘‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’’
सुगौली सन्धी सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको उहाँले बताउनुभयो । सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भन्नुभयो, ‘‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।’’
उहाँले थप्दै भन्नुभयो, ‘‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’’
यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिनुभयो । महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो । उहाँको अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुने छन् ।
यस्तै उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको बताउनुभयो । पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घर भित्रै बन्धक बनाउनुहुँदैन उहाँले भन्नुभयोे, ‘‘सामाजिक रूपमा सक्रिय हुन कुनै रोकटाेक छैन । सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।’’