मकवानपुरगढी, साउन ३० : बागमती प्रदेशको नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
नवनियुक्त पाँच मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री बानियाँले नियुक्त गर्नुभएको युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल, सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले विना-विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोक्नुभएको छ । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा (एमाले) बाट ६ मन्त्री नियुक्त गरिएको थियो । यो सँगै बागमती प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ ।