08/12/2025, 14:12:43

बागमती मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै


बागमती, साउन २७  : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले   प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको हो ।

यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको हो ।

नयाँ भवनबाट प्रदेशसभाको बैठक सञ्चालन हुने

बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ । भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिनुभयो ।

गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भई १८ महिनामा सकिनेगरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो । तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो । सहरी विकास तथा भवन कार्यालय हेटौँडा मकवानपुरमार्फत अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले रु पाँच करोड २९ लाखको लागतमा उक्त भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिनुभयो ।