08/24/2025, 11:58:29

निजामती विधेयकमा सहमतिको प्रयास


काठमाडौँ, भदौ ८ : समयको चापका बिच राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको छलफल चार दिन पर धकेलिएको छ । पछिल्लो पटक भदौ ६ गते शुक्रबार छलफल भएको सो विधेयकमाथि अब भदौ ११ गते मात्रै छलफल सम्भव हुने छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार भदौ ८ गते आइतबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने छ । समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भदौ ८ र ९ गते आफू उपत्यकाबाहिर रहने जानकारी गराएपछि निजामती विधेयकमाथिको छलफल रोकिएको बताउनुभयो ।

राष्ट्रिय सभा नियमावलीको नियम १०९ ले समितिमा विधेयकमा परेको संशोधनसहितको दफावार छलफल हुँदा मन्त्रीको उपस्थितिलाई अनिवार्य गरेको छ । समितिले भने मन्त्री, मन्त्रालयका प्रतिनिधि तथा आफ्ना सदस्यलाई समयको चाप रहेकाले अन्य तालिकालाई थाती राखेर बैठकमा नियमित उपस्थित हुन तथा सहमति हुने गरी कुरा राख्न आग्रह गर्दै आएको छ ।

समितिमा मूल विधेयकसँगै प्रतिनिधि सभाको सन्देशसहितको प्रतिवेदन र राष्ट्रिय सभाले राखेको संशोधनसहित एकमुष्ठ छलफल हुँदै छ । मूल विधेयकमा १४७ वटा दफा छन् । तीन वटा बैठकले १० वटा बुँदामा मात्रै छलफल गरेको छ । पछिल्लो दुई वटा बैठकमा पदपूर्ति प्रक्रियासँग सम्बन्धित विषयमा छलफल भयो तर सहमति भएको छैन ।

समितिका सभापति दाहालले समयभित्रै प्रतिवेदन तयार गर्न कि मन्त्रालय लचक हुनुपर्ने कि संशोधनकर्ता सदस्यले बिचको बाटो अपनाउनुपर्नेमा त्यसो हुन नसक्दा छलफल लम्बिएको बताउनुभयो । अबको एक सातामा समितिले प्रतिवेदन तयार गर्ने गरी छलफल टुङ्ग्याउला ? प्रश्नको जवाफमा सभापति दाहालले भन्नुभयो, “भदौ १७ गतेभित्र सक्नै पर्छ । समयभित्र टुङ्ग्याउन ११ गतेदेखि नियमित छलफल हुने छ ।

उहाँले यसो भनिरहँदा विधेयकको प्रकृति र संशोधनको सङ्ख्याले दफावार छलफलमा गएर टुङ्गिने सम्भावना देखिन्न । प्रतिनिधि सभाले करिब १६२ वटा बुँदामा संशोधन गरेको छ । राष्ट्रिय सभामा १६ वटा समूहमा ४३ जना सदस्यले १९३ वटा दफा/बुँदामा संशोधन प्रस्ताव गरेका छन् । यी सबै संशोधन र मसौदा विधेयकको हरेक दफामा छलफल गर्दा हप्तौँ लाग्न सक्छ ।

सभापति दाहालले वैकल्पिक उपायबारे समेत समितिका सदस्य तथा मन्त्री र मन्त्रालयका प्रतिनिधिसँग छलफल हुने बताउनुभयो तर सो विषयमा समितिमा प्रतिनिधित्व गर्ने दलसँग कुनै छलफल भएको छैन । सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनालले वैकल्पिक तरिकाबारे समितिका सदस्य वा समितिमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँग अहिलेसम्म कुनै छलफल नभएको जानकारी दिनुभयो ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा सेवाको गठन, प्रशासनिक अन्तरसम्बन्ध (प्रदेश र स्थानीय तह), कर्मचारी समायोजन ऐनबमोजिम सरुवा भएर गएका कर्मचारीको वृत्ति विकास तथा सहसचिव खुलाबाट आउन पाउनुपर्ने, कुलिङ अफ पिरियडमा छलफलले लामो समय लिने छ । संशोधनकर्ता अधिकांश सदस्यको संशोधनसमेत यी विषयमा नै बढी केन्द्रित छन् । समितिका सदस्य सुरेशकुमार आलेमगरले समेत सभापति दाहालकै वैकल्पिक उपायमा सहमति जनाउनुहुन्छ । सदस्य आलेमगरले भन्नुभयो, “समयले नभ्याउने देखिसक्यो । कुलिङ अफ पिरियडमा प्रतिनिधि सभाले गरेको त्रुटि सच्याउँदै मुख्य मुख्य दफामा छलफल गरेर समयभित्रै प्रतिवेदन तयार गर्नेतिर लाग्नु पर्छ ।

तर, कुलिङ अफ पिरियडलाई निस्क्रिय बनाउने व्यवस्थामा सहमति नहुने हो कि उहाँको आशङ्का छ । सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै सो विषयमा फरक मत छ । एमालेले कुलिङ अफ पिरियड छाडेर जाने संशोधन दर्ता गराएको छ तर कांग्रेस कुलिङ अफ पिरियड राख्नुपर्ने अडानमा छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले भने कुलिङ अफ पिरियड राख्न संशोधन दर्ता गराएका छन् । प्रतिनिधि सभाले पारित गरेको विधेयकको दफा ८२ (५) ले निजामती सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै सार्वजनिक पदमा नियुक्ति लिन पाउने ‘कुलिङ अफ पिरियड’ सम्बन्धी अघिल्लो दफाको व्यवस्था निस्क्रिय बनाएको छ ।

– इश्वरचन्द्र झा