रसुवा, साउन २६ : नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमासम्म लाग्ने पवित्र गोसाइँकुण्ड धार्मिक मेलामा यस वर्ष करिब १० हजार भक्तजनले स्नान गरी पूजा आराधना गरेका छन् । भक्तजनले आस्थापूर्वक कुण्डमा डुबुल्की लगाएर भगवान् शिवको दर्शन गरेका थिए । उच्च हिमाली यात्राका व्रmममा अस्वस्थ भएका छ जना र एक जना अपाङ्गता भएका तीर्थयात्रीलाई उद्धार गरी जिल्ला अस्पताल पु-याइएको जिल्ला प्रहरी हेमत्रबहादुर शाहीले जानकारी दिनुभयो । सबैको अवस्था सामान्य रहेको छ ।
मेलामा स्वास्थ्य सेवा सुनिश्चित गर्न गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल, जन स्वास्थ्य कार्यालय, वाइसिएल र अखिल व्रmन्तिकारी जिल्ला कार्यसमितिबिच छुट्टाछुट्टै पहलमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा उचाइजन्य समस्या देखिने भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हिमालय उद्धार समाज, युवा समूह र लाङटाङ राष्ट्रिय निकुञ्जका सुरक्षा टोली सतर्क रहँदै निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डमा गङ्गा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्छ । हरेक वर्ष मेलामा नुवाकोट, काडमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, कैलाली, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घाखाँची, कास्की, चितवन, महोत्तरीलगायत जिल्लाबाट तीर्थयात्री आउने गर्छन् ।
गोसाइँकुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको र बर्सेनि हजारौँ भक्तजन वर्षको दुई पटक स्नान गर्न र मेला भर्न आउने गर्छन् ।