पनौती, काभ्रे – नेपालको धार्मिक, सांस्कृतिक र राष्ट्रिय गौरवका प्रतीकका रूपमा स्थापित कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा आज विशेष ऐतिहासिक घटना सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका आध्यात्मिक व्यक्तित्व श्री १००८ स्वामी रमणानन्द महाराजको हातबाट ६.५ केजी शुद्ध चाँदीको ‘निशानी’ अनावरण गरिएको हो ।
यस अघि यहाँ ७७ जिल्लाको रथयात्रा सम्पन्न भइसकेको र विश्वकै अग्लो शिव त्रिशूल स्थापना भइसकेको थियो । अनावरण समारोहमा मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यको सूचीमा सूचिकृत गर्ने घोषणा गर्दै पशुपतिनाथ–लड्केश्वर दर्शन मार्गलाई सहज र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा विद्वानहरू, राष्ट्रिय पञ्चाङ्ग समितिका प्रतिनिधिहरू, जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी, दानदाता र ठूलो संख्यामा भक्तजनको सहभागिता रह्यो । पीठाधीश मुकुन्द शर्मा हुमागाईले ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ अन्तर्गत ७७ वटै जिल्लामा यो निशानी लैजाने र शास्त्रीय मर्यादासहित दर्शन गराउने योजना सार्वजनिक गर्दै यात्राको सुरक्षा गृह मन्त्रालयसँग समन्वयमा रहने बताए । यसका लागि विशेष रथ तयार भइसकेको छ ।