गलकोट (बागलुङ) १३ पुसः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताउनुभएको छ ।
आज ढोरपाटन नगरपालिका–८ को सेराबाङमा आयोजित एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताउनुभयो । उहाँले डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाइरहेको बताउनुभयो । बिरामी नभई अस्पताल नजाने बानीको अन्त्य गर्न सचेतना आवश्क रहेकाले समय–समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
दुर्गम गाउँमा स्वास्थ्य सेवा गण्डकी प्रदेशको प्राथमिकता रहेको मुख्यमन्त्रीको भनाइ छ । साथै उहाँले घरमै हुने सुत्केरी गराउने चलन अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।
दूरदराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शय्याको अस्पताल स्थापना गरेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ ।