आइतबार, पुष १४, २०८१

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्योः सभापति देउवा


काठमाडौँ, १३ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो भन्नुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उहाँ समकालीन नेताहरुमा धेरै अगाडि रहनुभएको बताउनुभयो ।

सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उहाँले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताउनुभयो । नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गर्नुभयो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक सिद्धान्त र आदर्शको राजनीतिलाई श्रीसिंहले निष्ठाका साथ अनुशरण गर्नुभएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता सिंहले निष्ठाको राजनीति गर्ने आदर्श योद्धाका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्वर्गीय सिंहले राजनीतिक गर्नुभएको सम्झनुभयो । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डङ्गोललगायत वक्ताले काठमाडौँ उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने भन्ने शिक्षा स्वर्गीय सिंहबाट लिनुपर्ने बताउनुभयो ।

विसं २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading