बिहिबार, पुष ११, २०८१

क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै युक्रेनमा रुसी आक्रमण


काठमाडौँ, १० पुस : रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।

युक्रेनी इन्धन र ऊर्जा स्रोतहरूमा गरिएको आक्रमणमा ७८ वटा हवाई, भूमि र समुद्री प्रक्षेपण मिसाइलका साथै १०६ वटा साहेद र अन्य प्रकारका ड्रोनहरू समावेश रहेको युक्रेनको वायु सेनाले जनाएको छ । उसले ५९ मिसाइल र ५४ ड्रोन ध्वस्त पारेको र थप ५२ ड्रोनलाई जाम गरेको दाबी गरेको छ ।

(रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले जानाजानी आक्रमणका लागि क्रिसमस रोज्नुभयो । यसभन्दा बढी अमानवीय के हुनसक्छ ?”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा भन्नुभयो, “उनीहरूले युक्रेनमा ब्ल्याकआउटका लागि लडाइँ जारी राखेका छन् ।

यसैबीच रुसको भ्लादिकाभ्काज सहरको एउटा सपिङ मलमा ड्रोनबाट खसेको भग्नावशेषबाट आगलागी हुँदा एक महिलाको मृत्यु भएको र तीन जना घाइते भएका छन् । रुसी गणतन्त्र उत्तर ओसेशिया–अलानियाका प्रमुख, गभर्नर सर्गेई मेनयेलोले सुरक्षा फुटेजले बुधबार बिहान अलानिया मलबाहिर विस्फोट भएको देखाएको बताउनुभयो ।

युक्रेनको डिनिप्रो क्षेत्रमा रुसले गरेको आक्रमणमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र १५५ आवासीय भवनको ताप अवरुद्ध भएको उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले टेलिग्राममा बताउनुभयो । उहाँले खार्किभ क्षेत्रका पाँच लाख मानिस तापविहीन भएको पनि जानकारी दिनुभयो ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाका अनुसार एउटा रुसी क्षेप्यास्त्रले मोल्डोभा र रोमानियाको हवाई क्षेत्र पार गरेको थियो । ऊर्जामन्त्री हर्मन हालुश्चेन्कोले रुसले फेरि ‘व्यापक रूपमा ऊर्जा पूर्वाधारमा आक्रमण’ गरेको बताउनुभयो । युक्रेनको वायु सेनाले देशको पूर्वमा रहेको खार्किभ, डिनिप्रो र पोल्टाभा क्षेत्रमा धेरै मिसाइल प्रहार गरिएको बताएको छ ।

हालुश्चेन्कोका अनुसार विद्युत् वितरकले उपभोग सीमित गर्न आवश्यक कदम चालेका छन् । “सुरक्षा स्थितिले अनुमति दिने बित्तिकै ऊर्जा कर्मचारीहरूले भएको क्षतिको मूल्याङ्कन गर्नेछन्”, उहाँले भन्नुभयो । राज्य ऊर्जा अपरेटर युक्रेनेर्गोले ‘व्यापक मिसाइल आक्रमण’ का कारण देशभरि पूर्व सावधानीका रूपमा विद्युत् कटौती लागु गरेको छ । यसबाट राजधानी किएभका केही जिल्ला विद्युत्विहीन भएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले रुसले बुधबार बिहान उनीहरूको एउटा थर्मल पावर प्लान्टमा आक्रमण गरेको र यो यस वर्षको युक्रेनको पावर ग्रिडमा १३ औँ आक्रमण भएको बताएको छ ।

क्रिसमस मनाउँदै गर्दा लाखौँ शान्ति–प्रेमी मानिसलाई प्रकाश र न्यानोपन अस्वीकार गर्नु एउटा भ्रष्ट र दुष्ट कार्य हो । यसको जवाफ दिनुपर्छ”, डिटिइकेका सिइओ म्याक्सिम टिमचेन्कोले आफ्नो एक्स खातामा लेख्नुभएको छ ।

कम्तीमा सात आक्रमणले खार्किभलाई लक्षित गरी शहरभर आगलागी फैलायो”, क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले टेलिग्राममा लेख्नुभयो । स्थानीय अधिकारीहरूका अनुसार कम्तीमा तीन जना घाइते भएका छन् ।

खार्किभमा ठूलो क्षेप्यास्त्र प्रहार भएको छ । सहरमा श्रृङ्खलाबद्ध विस्फोटहरू भए र अझै पनि सहरतर्फ ब्यालिस्टिक मिसाइलहरू उडिरहेका छन् । सुरक्षित स्थानमा रहनुहोस्”, खार्किभका मेयर इहोर तेरेखोभले भन्नुभयो ।

रुसको रक्षा मन्त्रालयले बुधबार बिहानको रिपोर्टमा बेलगोरोड, भोरोनेज, कुर्स्क, ब्रायन्स्क र ताम्बोभ क्षेत्रहरूका साथै अजोभ सागरमा समेत ५९ युक्रेनी ड्रोन खसालिएको बताएको छ । यसमा उत्तरी ओसेटिया–अलानियाको घटनाबारे उल्लेख गरिएको छैन ।

कुर्स्क क्षेत्रको एलगोभ सहरमा युक्रेनी गोलाबारीका कारण चार जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख अलेक्जान्डर खिन्स्टेनले बताउनुभयो । केही आवासीय ब्लक र ब्युटी सैलुनमा प्रहार भएपछि तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अर्को व्यक्तिको पछि अस्पतालमा मृत्यु भयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading