काठमाडौँ, ५ पुसः एकपछि अर्को इतिहास रचिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार एउटा इतिहास रच्दैछ । त्यो हो- अहिलेसम्मको धेरै हलबाट ५१ दिन मनाउने इतिहास । फिल्मले शुक्रबार देशभरका ३८ हलमा ५१ दिन मनाउँदैछ । ‘यति धेरै हलबाट फिल्मले पहिलोपटक ५१ दिन मनाउन लागेको हो’ वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने ।
फिल्मले ४२ दिनसम्म देशव्यापी ४९ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । तर के ५१ दिनसम्म फिल्मले ५० करोड ग्रसको आँकडा पार गर्ला ? यसबारे अहिल्यै भन्न सकिंदैन । ब्यांकटेस इन्टरटेनमेन्टले शुक्रबारसम्म अहिलेसम्मको कलेक्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । सात विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।
यसरी नेपालको ६ साता र विदेशको बक्स अफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० (करिब ५.३३ मिलियन अमेरिकी डलर) हुन आउँछ ।
सरोज पौडेल निर्देशित यस फिल्मले बाबुछोराको भावनात्मक सम्बन्धको कथा भन्छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।