काठमाडौँ, २० मङ्सिरः फिल्म ‘केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले माघ ११ गते (२४ जनवरी २०२५) मा फिल्म रिलिज हुने जनाएको छ ।
यसअघि ‘पूर्णबहादुरको सारङ्गी’को बक्स अफिस लहरका कारण दीपेन्द्र गौचन निर्देशित फिल्मले प्रदर्शन स्थगन गरेको थियो । अहिलेसम्म यो मितिमा अन्य मितिमा प्रदर्शन तय नगर्दा सृष्टि श्रेष्ठ र नाजिर हुसेन स्टारर फिल्म सोलो आउनसक्छ ।
एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स सिनेमाजका निर्देशक नकिम उद्दिनको फिल्म कम्पनी ट्राई–सिटी पिक्चर्सले यो फिल्म निर्माण गरेको हो । तीन दशकअघि ‘उजेली’ सिरिज निर्देशन गरेका गौचनले यो फिल्ममार्फत निर्देशनमा पुनरागमन गरेका छन् ।
फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता छन् ।
निर्देशक गौचनले दुई युवायुवतीको सम्बन्धमार्फत मधेशी र पहाडीबीच हार्दिक सम्बन्धको कथा भन्ने प्रयत्न गरेका छन् । रिलिज भएदेखि नै यो फिल्मको ट्रेलर चर्चामा छ ।