सोमबार, पुष ०८, २०८१

दुई वर्षको काम ६ महिनाभित्र गर्छु : दिनेश डिसी


६ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताउनुभएको छ । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डिसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।

अध्यक्ष डिसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’  निर्मातालाई उपलब्ध गराउने लगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताउनुभयो ।

चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ । यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री (ह्वीलचेयर पुग्ने) बनाउँछौँ”, अध्यक्ष डिसीले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading