मङ्गलबार, पुष ०९, २०८१

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष प्रचण्ड


१० कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ ।

माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी गर्नुभयो । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उहाँले बताउनुभयो । उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको हो भन्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताउनुभयो । सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा उहाँको जोड थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको महान् अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मजदुर र किसान वर्गको हितका खातिर नयाँ विशेषतासहितको समाजवादको आधार तयार पार्न पार्टीले विशेष प्रयास थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले देश र जनताका पक्षमा दूरगामी महत्वका काम गरेको विवरण पनि उहाँले सार्वजनिक गर्नुभयो ।

केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्य, यशोदा सुवेदी, दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत सिर्पाली, पूर्वमन्त्री रामेश्वर राययादव, परशुराम तामाङलगायत वक्ताले माओवादी केन्द्र सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो ।

आमसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राजधानीको विभिन्न स्थानबाट निस्केको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading