९ कात्तिक, काठमाडौं । लोकप्रिय लोकपप-रक ब्याण्ड कन्दराले यसवर्ष ३२ औं वर्षगाँठ मनाउँदैछ । यो छेकोमा पोखरेली सांगीतिक समूह ‘पहिले घरदेश, अनि परदेश’ अभियानमा निस्किएको छ । ३ दशक लामो इतिहास बोकेको ब्याण्ड केही पहिले तालनगरी पोखरामा गुञ्जियो । अब भने २४ कात्तिकमा काठमाडौंमा गुञ्जिने भएको छ । ठमेलस्थित एलओडी क्लबमा प्रशंसकले आफ्नो प्रिय ब्याण्डको मिठास सुन्न पाउनेछन् । ब्याण्ड स्थापनायता काठमाडौंमा गुञ्जिन लागेको यो पहिलो अवसर हो ।
‘३२ वर्षमा पहिलोपटक हामी काठमाडौंमा गुञ्जिँदैछौं । राजधानीको प्रस्तुति अविष्मरणीय बन्ने निश्चित छ’ ब्याण्डका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने । ब्याण्डले राजधानीमा हुने कन्सर्टलाई ‘काठमाडौं कलिङ’ नाम दिएको छ ।
‘हामी ३२ वर्ष बुढो भैसक्या रहेछौं । यी कुरा हजुरहरुलाई सुनाउन पनि जरुरी छ । नयाँ पुस्तासँग पनि जोडिने मौका हो यो । ब्याण्डको पुनर्संरचनापछि हामी अब नयाँ लय र तयारीसँग प्रशंसकमाझ आउँदैछौं ।’ उनले भने ।
९० को दशकको चर्चित ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ । जहाँ, दर्शकले ब्याण्डका सदाबहार हिटसँगै नयाँ गीत पनि सुन्न पाउनेछन् । तीन सहरको मिति पनि तय हुन बाँकी रहेको विवेकले बताए ।
ब्याण्ड यतिबेला नयाँ र पुराना सदस्यलाई संगठित गर्दै जुर्मुराएको छ । भोकलमा विवेक स्वयं छन् भने ड्रम्समा सुनिल थापा छन् । थापा स्थापनाकालदेखि ब्याण्डका मेरुदण्ड हुन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा छन् ।
‘म स्वयम कन्दराको फ्यान हुँ । यो गौरवशाली समूहसँग जोडिएर काम गर्ने अवसर पाउँदा उत्साहित छु’ डेढ दशकदेखि गिटारवादकको रुपमा कार्य गर्दै आएका लामाले पत्रकार सम्मेलनमा भने ।
नेपाल टूरको आयोजना एमएन प्रोडक्सनले गरेको हो । टूरलाई सफल बनाउन आफूहरु सक्रिय रहेको अध्यक्ष जीत लामाले बताए । नेपाल टूरका लागि ब्याण्डले आर्बिट्युरी, आरएसभीपी र वायर्स म्युजिकसँग मिलेर कार्य गर्दैछ । ‘यी कम्पनीसँगको सहकार्यमा हामी नयाँ पुस्तासँग जोडिने अवसर पनि पाउँछौं’ विवेकले भने । भोटिङ पार्टरनको रुपमा खल्ती रहेको छ ।
वर्ल्ड टूरको घोषणा
‘पहिला घरदेश अनि परदेश’ अभियान चलाएको ब्याण्डले उक्त प्रेसमिटमा विश्व टूरको घोषणा गरेको छ । सन् २०२५ को जनवरीमा बेलायत र दुबईदेखि वल्र्ड टूर सुरु हुनेछ । फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अष्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्टसम्म युरोप भ्रमण तय भएको छ । महिना तय भएपनि यकिन मिति भने तय हुन बाँकी रहेको जनाइएको छ ।
७ अमेरिकी सहरमा टूर हुने निश्चित भएको छ । ‘यस अन्तर्राष्ट्रिय भ्रमणले नेपालको समृद्धि सांस्कृतिक सम्पदा र यसको विकसित हुँदै गैरहेको संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने कन्दराको कालजयी गीतहरुको साथै नयाँ सिम्फोनीलाई पनि विश्वब्यापी दर्शकमाझ लैजान्छ’ ब्याण्डले भनेको छ ।
आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य
कन्दराले यस अभियानलाई आन्तरिक पर्यटन प्रवर्धनसँग जोड्न चाहेको छ । यसको सुरुवात पर्यटन राजधानी पोखरादेखि सुरु भएको छ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले ब्याण्डसँग सहकार्य पनि गरेका छन् । आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यले सातै प्रदेशमा यस्तो कार्यक्रम गर्न लागिएको ब्याण्डका अगुवा विवेकले बताए । विवेकले भने, ‘अबको कार्यक्रम फगत सांगीतिक मात्र नहोस् भनेर हामी सचेत छौं । नेपालसँग भएको ठूलो हतियार भनेको पर्यटन हो । विदेशी पर्यटकको मात्र मुख ताकेर मात्र हुँदैन । आन्तरिक पर्यटकले मात्र पर्यटनलाई चलायमान बनाउन सक्छन् भन्ने मान्यतामा हामी विश्वस्त छौं ।’
उनले संगीतलाई पर्यटनसँग जोड्नेतर्फ कन्दरा लागेको बताए । विवेक भन्छन्, ‘धरानबाट भोजपुर जाऊँ, भोजपुरबाट धनकुटा जाऊँ, धनगढीको मान्छेलाई चितवन घुमाउन लिएर जाऊँ भन्ने खालको क्याम्पेन हो । हामी जति ठाउँमा कन्सर्ट गर्न जान्छौं, त्यहाँ पहिला घरदेश अनि पछि परदेशको कुरा राख्छौं ।’
यो नारालाई विश्व भ्रमणमा पनि लिएर जाने तयारी छ । ‘विदेशमा पनि बाहिर बस्ने नेपाली र उनीहरुको साथीलाई पहिला आफ्नो देश घुम्न जाऊँ, पहिला नेपाल घुमौं, त्यसपछि स्विटजरल्याण्ड, युरोप घुमौं भन्ने अभियानमा लागिपरेका छौं’ विवेकले भने ।
यो अभियानलाई एकवर्षसम्म चलाउने कन्दराको योजना छ । यसबाहेक नयाँ पुस्तासँग जोडिन पनि ब्याण्ड लागिपरेको पत्रकार सम्मेलनमा विवेकले बताए । यसका लागि नयाँ पुस्ताका संगीतकर्मीसँग मिलेर काम गरेका आर्बिट्युरी, वायर्स म्युजिक र आरएसभीपीसँग सहकार्य गर्न लागेको उनले बताए । पोखरामा स्थापना भएको यो ब्याण्डले लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडी गोठैमा, फूलचोकीको डाँडैमाजस्ता हिट गीत दिएको छ । चाँडै नयाँ गीत र एल्बमसहित आउने योजना रहेको ब्याण्डले जनाएको छ ।