९ कात्तिक, काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ। ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेसा अँगालेका चार युवकको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा देखाएको छ। ट्रेलरको अन्त्यतिर युवतीलाई भूतका रूपमा प्रस्तुत गर्न खोजिएको छ।
‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ। नेपालमा विरलै प्रयोग भएको जनरा हरर कमेडी यो फिल्म छठ पर्वको दिन पारेर कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म छ। यस फिल्मले हसाउने र तर्साउने दुवै उद्देश्य बोकेको छ।
‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशित फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन्। रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बु, पुष्प अवस्थीलगायतको अभिनय छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्।
मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन्। उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।