12/19/2025, 15:27:20
शुक्रबार, पुष ०४, २०८२

गुल्मीमा एक वर्षमा ६७ जनाको घर बाहिर शव फेला


रेसुङ्गा(गुल्मी), पुस ४ गते । गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियार स्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको १३ दिन भए । सेतो हरियो रङको चेक सर्टमाथि निक लेखेको कालो ट्रयाक र कालो पाईन्ट लगाएको पुरुषको शव फेला परेको थियो ।

शरिरमा चोटहरु भएकाले आफैँ मरे वा कसैले हत्या गरेर फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म शवको बारेमा कसैले सम्पर्क गरेका छैनन् । शवको अनुसन्धान थप बलियो हुन पहिचान आवश्यक छ । प्रहरीले घटनाको बारेमा सुष्म रुपमा अनुसन्धान गरिरहेको भए पनि पहिचान नहुँदा प्रमाणमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो । मातहतका युनिटहरुमा हुलिया परिपत्रका काम भइरहेको प्रहरीले जनाएको छ ।

गत कात्तिक २८ गते घरबाट हराउनु भएका मुसिकोट नगरपालिका–१ पौदी अमराईका ४७ वर्षीय बोमबहादुर खत्री भिरमा अड्किएको अवस्थामा मङ्सिर ५ गते फेला पर्नुभयो । सोही दिन शवको पहिचान भए पनि भिरबाट निकाल्ने उपाय भएन् । मङ्सिर ६ गते सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदिप प्रसाईंसहितको टोलीले शव निकाल्यो । कुहिएको शरिर भएकाले कपडाका आधारमा स्थानीय र प्रहरीले व्यक्ति पहिचान गरे । गुल्मीदरवार गाउँपालिका–१ बोटे गाउँकी ५० वर्षीया दिलकुमारी बोटे कात्तिक २३ गते बोक्सिरहमा मृत फेला पर्नु भयो ।

कात्तिक २१ गते घरबाट कोही कसैलाई जानकारी नदिइ हिँडेको प्रहरीले जनायो । धुर्कोट गाउँपालिका–६ मिहाल पानीका ६३ वर्षीयय मिनबहादुर रोकाहाको शव स्थानीय भिरथोक मिहालेपानी पधेरो नजिक कात्तिक २ गते फेला प¥यो । स्थानीय र प्रहरीले शवको पहिचान गरेपछि कानुनी प्रक्रिया पूरा गरेर आफन्तले अन्त्यष्टि गरे । मुसिकोट नगरपालिका–९ का ४९ बर्षीय यम बहादुर विक इन्द्रेगौडाको भित्री सडकमा मङ्सिर १९ गते मृत फेला पर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसार २०८१ मङ्सिरदेखि पुस ३ गतेसम्म एक वर्षको अवधीमा ६७ जनाको घर बाहिर विभिन्न अवस्थामा शव भेटिएको छ । जसमा महिला २० र ४७ जना पुरुष रहेका छन् । महिलाको तुलनामा पुरुष दोव्वरले मृत भेटिने गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार मानसिक सन्तुलन गुमाएका, उमेर पुगेर एक्लो बनेका वृद्ध–वृद्धा, अपाङ्ग, अत्यधिक मादक पदार्थ सेवन गर्ने व्यक्तिहरु घर बाहिर शव भेटिने गरेको छ ।

अधिकारीकाले व्यक्ति, परिवार र समुदायका कारण यो अवस्था देखिएको बताउनुभयो । “राम्रो पारिवारीक अवस्था भएका व्यक्ति दुर्घटना बाहेक घर बाहिर बेबारिसे अवस्थामा मर्दैन । गरिवी, पारिवारीक विचलन, एक्लोपन, मानसिक समस्या लगायतका कारण घटना हुने गरेका छन् ।” यो समस्या न्यूनिकरणको लागि प्रहरीको तर्फबाट महिनामा २०० सम्म सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमहरु भइरहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।

एउटा सानो पहाडी जिल्लामा वर्षमा ६७ जनाको घर बाहिर ज्यान जाने विषय सामान्य होइन् । तर यो विषयमा सरकारका निकायहरुको तर्फबाट खास कार्यक्रम र अभियानहरु भइरहेका छैनन् । मानव अधिकारकर्मी अधिवक्ता बिनोद पाण्डेयले शङ्कास्पद घटनामा जाहेरी नकुरेर सवैभन्दा पहिले प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गर्नुपर्ने तर्क गर्नुहुन्छ । उहाँले गाउँ–गाउँमा सरकार हुँदा पनि समस्या विकराल बन्नु दुःखद भएकाले धेरै मान्छेको मृत्यु हुने पालिकाको तथ्याङ्क, उमेर समुह र कारण पहिचान गरेर न्यूनीकरणमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

– टोपलाल अर्याल