12/15/2025, 03:55:37
आइतबार, मङि्सर २८, २०८२

ह्याप्पी होलिडेज परेडमा अमेरिकामा लाखे नृत्यसँगै घन्कियो मादल


अमेरिका, मङ्सिर २८ : नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै होलिस्प्रिंगमा शनिवार बिहान नेपालीहरुले नेपालको झण्डासहित मादल घन्काएर आफ्नो पहिचान छोडेका छन् ।

प्रत्येक वर्ष क्रिसमस आउनुभन्दा केही समयअघि टाउन अफ होलिस्प्रिंगले आयोजना गर्ने गरेको ह्याप्पी होलिडेज परेडमा पहिलोपटक नर्थ क्यारोलाइनामा बसोवास गरिरहेका नेपालीहरुले सहभागिता जनाएका हुन् । सहभागिताका क्रममा नेपालीहरुले मादल घन्काएका थिए भने लाखे नृत्य पनि आयोजना गरिएको थियो ।

सो परेडमा करिब एक सय नेपालीको सहभागिता थियो । मादलको साथमा नेपाली नृत्य, गीत र लाखे नाचलाई सडकको दायाबायाँ दुवैतर्फ खचाखच भरिएका हजारौँ स्थानीय वासिन्दाले स्वागत गरेका थिए । सहभागी नेपालीहरुमध्ये अधिकाँश पुरुषहरुले दौरासुरुवाल र महिलाहरुले साडी र चोलो लगाएका थिए । परेडमा करिब दुई किलोमिटरको पैदल यात्रा गरिएको थियो ।

blog

“पहिलोपटक सहभागिता जनाएकाले अलिक थोरै नेपालीहरु उपस्थित भएका हुन् । अबदेखि नियमित रुपमा सहभागी हुने सोचेका छौँ ”  एनसीएनसीका अध्यक्ष विकास शाक्यले भन्नुभयो ।

सो परेडमा स्थानीय विभिन्न संघ संस्था, विद्यालय, अस्पताल, चर्च, सवारी साधन, नृत्यशाला आदि ८२ वटा समूहले सहभागिता जनाएका थिए । होलिस्प्रिंग टाउनले सहभागी सबैलाई धन्यवाद दिएको छ ।  परेडमा उपस्थित हुनुभएकी क्यारोलले भनिन्  “यो परेड निकै भव्य भएको र यहाँका बासिन्दाहरुले दिएको माया र सद्भावनाप्रति धन्यवाद छ ।

– कृष्णराज खनाल