12/09/2025, 16:08:22
मङ्गलबार, मङि्सर २३, २०८२

यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री कार्की


काठमाडौं,मङ्सिर २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै कार्कीले अहिलेको सरकार सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको बताइन् । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको उनको दाबी छ ।

जेनजीका माग र अपेक्षाबमोजिमका अपेक्षाकृत उपलब्धि हासिल हुन समय लाग्ने भए पनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने उनको भनाइ छ । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनले बताइन् ।

यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिएको प्रधानमन्त्री कार्कीले बताइन् ।

यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ :

यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ । जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।

यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि हामी डराउँदैनौँ । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..