धनगढी, मङ्सिर २२ : कांग्रेसको विद्यमान पार्टी विधानमा भएको बाध्यकारी व्यवस्था अनुरूप पार्टी सभापतिबाट विश्राम लिने निश्चित भए पनि शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा भने पुनः होमिएलान् वा त्यसबाट पनि विश्राम लेलान् भन्ने सर्वत्र चासो छ ।
सोही चासोबीच कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा भने डडेलधुराबाटै पुनः प्रतिस्पर्धा गर्ने तयारी गरेको देउवा निकटस्थ कांग्रेस नेता कार्यकर्ताहरूले बताएका छन् ।
‘डडेलधुराबाटै निर्वाचन लड्ने इच्छा रहेको बताइसक्नु भयो,’ डडेलधुरा कांग्रेसका एक नेताले भने, ‘हाल निवासमा भेटघाटमा आउने नेता कार्यकर्ताहरूसँग अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु भन्नु भएको छ ।’ देउवा प्रतिनिधिसभाका सात वटा चुनावमा होमिएर निरन्तर विजयी हुँदै आएका नेता हुन् ।
फागुन २१ हुने निर्वाचनका लागि कांग्रेसले यतिबेला उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ । यही २५ गतेभित्र जिल्ला कार्यसमितिले उम्मेदवारहरूको सिफारिस पठाइसक्ने तालिका निर्धारण गरेको छ । ‘सभापति नै चुनावमा लड्ने छलफल भइरहेको छ । तर अन्तिम कुरा अहिल्यै नभनौं । एक/दुई दिनमा थाहा भइहाल्छ,’ डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदले भने ‘देउवाले चुनाव लड्ने टुंगो लागेपछि एकल नाम सिफारिस गर्ने तयारी छ ।’
दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको संसदीय यात्रा अपराजित छ । उनी ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा डडेलधुराबाटै निर्वाचित भएका थिए । डडेलधुरासहित उनी कञ्चनपुर र कैलालीबाट दोहोरो चुनाव लड्दा पनि उनी एक-एक पटक निर्वाचित भएका थिए ।
– अर्जुन शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















