काठमाडौँ, मङ्सिर २२ : भोजपुरको स्थानीय पालिकाका कृषकले उत्पादन गरेको स्थानीय खाद्यान्न तथा सामग्रीहरूको प्रचार–प्रसार तथा ब्रान्डिङ गर्नमा टेवा पुग्ने उद्देश्यले काठमाडौँस्थित बत्तिस पुतलीमा प्रदर्शनीमा राखिएको छ ।
भोजपुरबाट टेम्केमैयुङ गाउँपालिका र षडानन्द नगरपालिकाले स्थानीय उत्पादनलाई प्रदर्शन गरेको हो । टेम्केमैयुङ गाउँपालिकाबाट अध्यक्ष सरोज राईको नेतृत्वमा स्थानीय उत्पादन कोदो, फापरको पिठो, एभोकाडो, मौरीको मह, किवी, मकैको चामल, सिस्नो, सुन्तला, चिया, खुर्सानी, सिमीलगायत स्थानीय उत्पादन रहेका छन् ।
षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमीला राईको नेतृत्वमा रुद्राक्षको माला, सिलम, फर्सी, चिराइतो, चामल, राडिपाखी अन्य प्रदर्शनीका सामग्रीहरू स्टलमा प्रदर्शन गरिएको छ ।
विगत वर्षदेखि नै पालिकाले स्थानीय उत्पादनलाई काठमाडौँ लगायत बाह्य जिल्लामा निर्यात गर्दैआएको उल्लेख गर्दै यसको थप प्रचार–प्रसारलगायत स्थानीय उत्पादनलाई व्यापक बनाउन प्रदर्शनीमा सहभागी भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार पालिकाले स्थानीय अग्रज कृषकलाई कृषिलगायत खाद्यान्न उत्पादनमा अनुदान, राहत तथा प्रोत्साहन गर्दैआएको छ, उहाँहरूले उत्पादन गरेको खाद्यान्न तथा वस्तुलाई बाह्य बजारसम्म लग्न पालिकाले आफैँ बजारीकरण तथा प्रचार–प्रसार गरेको हो, यससँगै देशकै चर्चित मुन्धुम पदमार्ग र उक्त क्षेत्रमा उपभोग हुने स्थानीय खाद्यान्न परिकार समेत प्रचार–प्रसार गरेको अध्यक्ष राईले बताउनुभयो ।

यता, षडानन्द नगरपालिकाकी उपमेयर प्रमीला राईले षडानन्द रुद्राक्षको राजधानी भएकाले रुद्राक्षलगायत अन्य स्थानीय खाद्यान्न लगायत सजावटका सामग्रीहरू प्रदर्शनीमा समावेश गरेको बताउनुभयो । प्रदर्शनीमा देशभरिका २६ स्थानीय तहले स्थानीय उत्पादनको प्रदर्शन तथा प्रचार–प्रसार गरेका छन् ।
प्रदर्शनीमा आएर किनमेल गर्नुहुने इलामका मञ्जु दाहालले देशका विभिन्न ठाउँबाट आएका स्थानीय उत्पादन स्टलमा सामान्य मूल्यमा किन्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताउनुभयो । पालिकाले प्रदर्शनी गरेको एभोकाडो र सुन्तला किन्दै भन्नुभयो “हामीले धनकुटामा मात्र एभोकाडो पाइन्छ, सोचेका थियौ तर भोजपुरमा पनि पाइँदो रहेछ । अन्य स्थानीय कोदो, फापर, मौरीको मह, लगायत खाद्यान्नलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत पुर्याउन सके स्थानीय कृषकको जीविकोपार्जनमा टेवा पुग्ने थियो ।
जिल्लाको पश्चिमी क्षेत्र केराबारी, दावाँलगायत क्षेत्रको सुन्तला स्वादिष्टका हिसाबले स्थानीय, जिल्ला तथा राष्ट्रियस्तरमै चर्चित छ । यता, कोदोको पिठो, फापर लगायत खाद्यान्न सामग्री किन्नुहुने खोटेहाङ गाउँपालिका, खोटाङका गणेश भट्टराईले स्थानीय उत्पादनलाई दिगोपनासँगै बाह्य बजारमा नियमित उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो ।
स्थानीय उत्पादन अर्गानिक भएकाले लामो समयसम्म टिक्न सक्छ तर यसलाई पनि कोल्ड स्टोरमा सङ्कलन गरी बजारीकरण गर्न पाए राम्रो हुने बताउनुभयो । स्थानीय उत्पादन प्रदर्शन तथा आर्थिक विकासका लागि काठमाडौँमा भएको यो प्रदर्शनीले स्थानीय उत्पादन तथा आर्थिक विकासमा टेवा पुग्ने बागमती प्रदेशका पहिलो महिला मुख्यमन्त्री तथा एमालेका नेता अष्टलक्ष्मी शाक्लेले बताउनुभयो ।

प्रदर्शनीको अनुगमन गर्दै उहाँले भन्नुभयो, “देशका सबै स्थानीय तहको आ–आफ्नै पहिचान, स्थानीय उत्पादन तथा स्रोत साधन रहेका छन् । राज्यले नीति नै बनाएर यसलाई दीर्घकालीन समयसम्म निरन्तरता दिन आवश्यक रहेको समेत उहाँले औँल्याउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल ललितपुर बस्दै आउनुभएका विश्व राईले आफूले आफ्नै करेसाबारीमा फलेका फलफूल लगायत खाद्यान्नहरू काठमाडौँमा किन्न पाउँदा धेरै खुसी भएको उल्लेख गर्नुभयो । यसलाई प्रदर्शनीको रूपमा मात्र नभई नियमित उपलब्ध हुनेगरी प्रवर्धन गर्न आव्हान गर्नुभयो ।
भोजपुरले नियमित रूपमा जिल्ला र जिल्ला बाहिर काठमाडौँ, विराटनगर, धरान, इटहरी लगायत क्षेत्रमा अकबरे खुर्सानी, तरकारी तथा फलफूल नियमित निर्यात गर्दैआएको छ । व्यावसायिकताको अभावसँगै यसलाई व्यवस्थित गर्न बाँकी रहेको कृषकको भनाइ छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा गत वर्ष सुन्तला ३५ करोड, अकबरे २५ करोड, अलैँची करिब ३० करोड गरी अरबौँ रकम आम्दानी भएको छ । जिल्लामा उत्पादन भएका खाद्यान्न तथा नगदे बालीलाई थप ब्रान्डिङ, प्याकेजिङ तथा मूल्य निर्धारण गर्न सके जिल्लालाई कृषिमा तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले बताउनुभयो ।
– गोकुल भुजेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











