12/08/2025, 17:34:41
सोमबार, मङि्सर २२, २०८२

अन्नपूर्ण क्षेत्रमा बढ्दै विदेशी पर्यटक


मनाङ, मङ्सिर २२ : नेपालका प्रमुख पदयात्रा गन्तव्यहरूमध्ये अग्रणी मानिने अन्नपूर्ण संरक्षण क्षेत्र (एसीएपी) ले यस वर्ष अभूतपूर्व पर्यटक वृद्धि दर्ज गरेको छ । जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनाको अवधिमा कुल २ लाख ७३ हजार ६ सय ४६ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका एसीएपीले जनाएको छ । यो सङ्ख्या नेपालको पदयात्रा पर्यटन क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा ठूलो आगमनमध्ये एक मानिएको छ ।

अन्नपूर्ण क्षेत्रमा आएका पर्यटकमध्ये १ लाख १५ हजार ५ सय ५५ जना दक्षिण एसियाली मुलुक (सार्क देश) का रहेका छन् भने १ लाख ५८ हजार ९१ जना अन्य मुलुकका पर्यटक छन् । विश्वकै आकर्षक पदमार्गमध्ये पर्ने अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प र वरपरका प्राकृतिक तथा सांस्कृतिक स्थलले पर्यटक तान्न सफल भएको एसीएपीले जनाएको छ ।

एसीपीको तथ्याङ्कअनुसार अप्रिल महिना यो वर्षकै सबैभन्दा व्यस्त महिनाको रुपमा देखिएको छ जसमा ४४ हजार ७६३ पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए । त्यस्तै मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगस्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टोबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएको एक्यापको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष २०२४ को कुल आगमन २ लाख ४४ हजार ४५ थियो । यस वर्ष ११ महिनामै २९ हजारभन्दा बढीले पार गर्दै नयाँ कीर्तिमान स्थापित गरेको हो । कोरोना महामारीपछिको सुस्त गतिका वर्षहरूपछि २०२५ पर्यटन पुनरुत्थानको वर्षका रूपमा उदाएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

प्रमुख भुजेलका अनुसार पदमार्ग सुधार, सुरक्षा व्यवस्था, सरसफाइ, स्थानीय अतिथि सत्कार, सामाजिक–सांस्कृतिक विविधता र हिमाली दृश्यावलोकनका कारण अन्नपूर्ण क्षेत्र विश्वभरका पर्यटकको प्रमुख रोचक गन्तव्य बन्दै गएको छ । यस्तै, सुगम यातायात, सहज जानकारी सेवा तथा डिजिटल प्रमोसनले पनि पर्यटक वृद्धि हुन मद्दत पुर्‍याएको छ । उहाँले अगामी वर्ष २०२६ मा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन अझ बढ्ने र नेपालका हिमाली पर्यटन क्षेत्रले नयाँ उचाइ छुन सक्ने अपेक्षा गरेको बताउनुभयो ।

यसैबीच चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङमा यस वर्ष नोभेम्बर महिनामा कुल ६ हजार ७ सय ३ विदेशी पर्यटकको आगमन भएको छ । हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पदयात्राका लागि ख्याति कमाइरहेको मनाङले यो वर्ष पनि उल्लेखनीय सङ्ख्यामा पर्यटक भित्र्याउन सफल भएको छ ।

जिलास्थित पर्यटन सूचना केन्द्रका अनुसार आगन्तुकमध्ये पुरुष पर्यटक ३ हजार ९ सय १८, महिला २ हजार ७ सय ८४ र अन्य १ जना छन् । समग्र आगन्तुकमध्ये सार्क राष्ट्रबाट ३ सय ९१ जनाले पदयात्रा गरे भने ६ हजार ३ सय १२ जना अन्य देशका पर्यटक रहे ।

गत वर्ष २०२४ को नोभेम्बरमा ६ हजार ९ सय २ पर्यटकले मनाङ भ्रमण गरेका थिए । तुलनात्मक रूपमा यस वर्ष करिब २ सय जना कमकाे आगमन भएको छ ।

– यदुप्रसाद भट्ट