सुर्खेत, मङ्सिर २२ : सुर्खेतको प्रख्यात बुलबुले ताल जीर्ण हुन थालेपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेको मुख्य ताललाई भत्काएर नयाँ संरचना समावेश गरी पुरानै शैलीमा पुनर्निर्माण गरेको हो । पुनर्निर्माणका लागि ३६ लाख १८ हजार रुपियाँको लागत अनुमान गरे पनि प्रसन्न निर्माण सेवाले २३ लाख ६० हजारमा पुनर्निर्माण गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सो बुलबुलेको मुख्य ताल वरिपरिका पर्खाल र जमिनमा कालीकोट जिल्लाका ढुङ्गा बिछ्याएर आकर्षक बनाइएको छ भने पानी बग्ने १० वटा धारा पनि कलात्मक पारिएको छ ।
नगरपालिकाले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ढुङ्गा ल्याएर बुलबुलेको पुरानो शैलीलाई नबिगारी पुनर्निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँले यस वर्ष तालको मुख्य भागलाई पुनर्निर्माण गरिएको जानकारी दिँदै आगामी वर्ष दुई/तीन करोड रुपियाँको थप संरचना निर्माण गर्ने योजना बनाइएको बताउनुभयो । विगतमा नुहाउन र लुगा दिने गरिएकोमा अहिले सो काम गर्न निषेध गरिएको छ । सो स्थानमा अहिले फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ ।

यसै गरी बुलबुलेभित्र निर्माण गरिएको वनभोज स्थललाई पनि व्यवस्थित बनाइने छ । वनभोज स्थलमा शौचालय नभएकाले बनाउनुपर्ने छ । यस्तै त्यहाँ जानका लागि बिचमा खोला तर्नुपर्ने भएकोले झोलुङ्गे पुल बनाउने योजना पनि रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत बाँस्कोटाले दिनुभयो । आगामी वर्षभित्र बुलबुलेको वनभोज स्थल व्यवस्थित हुने उहाँले बताउनुभयो । बुलबुलेलाई २०२९ सालदेखि संरक्षण गर्न थालिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










