12/08/2025, 12:48:05
सोमबार, मङि्सर २२, २०८२

पदाधिकारीका दाबेदार धेरै भएपछि फेरि विधान संशोधन गर्ने तयारीमा ओली


काठमाडौँ, मङ्सिर २२ : एमालेले गत भदौ तेस्रो साता पारित गरेको विधानलाई फेरि संशोधन गर्ने भएको छ । भदौ २०–२२ मा भएको महाधिवेशनले पारित गरेको विधान संशोधन गरी सांगठनिक संरचना फेरबदल गर्न लागेको हो ।

विधान महाधिवशेनले पारित गरेको विधानलाई पनि राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रावधान छ। राजनीतिक दलको महाधिवेशनलाई सर्वोच्च निकाय मानिन्छ । विधान महाधिवेशनले पार्टीको सांगठनिक संरचनामा हेरफेर गरेको थियो । वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने, पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय त्यो महाधिवेशनले गरेको थियो ।

एमालका एक पदाधिकारीका अनुसार राष्ट्रिय महाधिवेशनले पदाधिकारीको संख्या बढाउने, युवालाई समेट्ने गृहकार्य भइरहेको छ। त्यसका लागि विधान संशोधन गर्नुपर्ने आवश्यकता हुन्छ। ‘पदाधिकारीको संख्या बढाउने र ४० वर्षमुनिका युवालाई समेट्ने गरी विधान संशोधनको तयारी छ,’ ती पदाधिकारीले भने, ‘विधान महाधिवेशनका बेला एउटा परिस्थिति थियो । अहिले केही बदलिएको हुनाले सांगठनिक संरचना संशोधन हुन सक्ने संभावना छ ।

महाधिवेशन पदाधिकारीका लागि करिब ४० नेताहरु आकांक्षी भएपछि पदाधिकारी संख्या १५ बाट बढाएर १९ पुर्‍याउने तयारी भएको छ । स्थायी कमिटीलाई नै पदाधिकारी मान्ने विधानमा उल्लेख भएकाले मुख्य-मुख्य नेता समेट्न पदाधिकारी संख्या बढाइने छ । १६५ निर्वाचन क्षेत्रबाट ४० वर्षका युवा महाधिवेशन प्रतिनिधि भएका छन् । ती युवालाई केन्द्रीय कमिटीमा समेट्ने तयारी पनि एमालेले गरेको छ ।

हाल स्थायी कमिटी र पोलिटब्युरोमा रहेका युवा नेतालाई पदाधिकारीमा चयन गर्नेगरी विधान संशोधनको तयारी छ । उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तयारी भई महाधिवेशनले पारित गरेको विधानले केन्द्रीय कमिटीलाई चुस्त बनाउने भन्दै संख्या घटाएको थियो । विधान महाधिवेशनले ३ सय ४९ सदसीय केन्द्रीय कमिटी घटाएर २ सय ५१ मा झारिएको थियो । त्यस्तै पोलिटब्युरोको संरचना हटाएको थियो ।

विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको छ । अब त्यसलाई फेरि बढाएर १९ पुर्‍याउने तयारी छ । नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ । पदाधिकारी संख्या बढाउँदा आवश्यकता अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या बढ्न सक्ने छ ।

पार्टीको नेतृत्व चयनका लागि संस्थापन र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धाको तयारी छ । नेतृत्व चयनका लागि दुई प्यान हुने भएपछि संस्थापन पक्षले विधान संशोधन गरी निकट नेताहरुलाई समेट्ने तयारी गरेको हो । उम्मेदवार हुन नपाउने अवस्थामा संस्थापनबाट पोखरेल समूहतिर जाने संभावनालाई ध्यानमा राखी सकेसम्म विधान संशोधन गरी समेट्ने तयारी ओलीले गरेका छन्।

हाल अध्यक्षमा आफू र महासचिवमा शंकर पाखरेललाई निरन्तरता दिने मनिस्थिति उनको छ। तर संस्थापन पक्षमा महासचिव, उपमहासचिव, सचिवका लागि विधानमा व्यवस्था गरेभन्दा धेरै नेताहरु आकांक्षी देखिएका छन् । महासचिवमा पोखरेलका साथै उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीले चाहना व्यक्त गरेका छन् । गुरुङले पार्टी संगठनलाई व्यवस्थस्थित र चुस्त बनाउने क्षमता आफूमा रहेको भन्दै अध्यक्ष ओलीसमक्ष महासचिवको दावी प्रस्तुत गरिसकेको निकट नेताहरुको भनाइ छ ।

अर्का उपमहासचिव ज्ञवालीले देशभर पार्टी स्कुल कक्षाहरु चलाउँदै पदोन्नतिका लागि सन्देश दिएका थिए । अध्यक्ष ओलीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखनमा काम गरिरहेका ज्ञवालीले पोखरेल ओलीको उत्तराधिकारीको रुपमा जाने अवस्थामा महासचिवको दावी अघि बढाएका छन् ।

हाल संस्थापनमा रहेका सचिवहरु लेखराज भट्ट, रघुबीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल पद व्यवस्थापन गर्दा उपाध्यक्ष, उपमहासचिवमा उकाल्ने ओलीको तयारी छ । स्थायी कमिटीका २३ र पोलिटब्युरोका ५१ सदस्यमध्येबाट सात सचिव चयन गर्नुपर्ने छ ।ओली अध्यक्ष र तपाईँ महासचिव हुने पक्का हो भन्ने सन्दर्भमा पोखरेलले कार्यकर्ताको अपेक्षा त्यही भए पनि संस्थागत निर्णयमा निर्भर हुने बताए ।

कार्यकर्ताको अपेक्षा त्यस्तै देखिन्छ तर पनि हामी सामान्यतयाः पार्टी अध्यक्षलाई बलियो बनाउनका लागि टिम निर्माण गर्नुपर्छ भन्ने मान्यताकै पक्षमा छौँ। किनकि संक्रमणकालको व्यवस्थापन, विद्यमान चुनौतीको सामना उहाँको नेतृत्वमा गर्ने भनिसकेको अवस्था हो,’ ती नेताले भने, ‘नेताहरुले आफ्नो अपेक्षा, आकांक्षा राख्ने कुरा स्वभाविक कुरा हो ।अन्त्यमा पार्टी अध्यक्षले जे भन्नुहुन्छ, सबैले मान्नुपर्छ भन्ने एउटा साझा दृष्टिकोणै छ।

महाधिवेशनमा बिभिन्न पदमा आकांक्षी धेरे भए पनि सहजै व्यवस्थापन गर्ने महासचिव पोखरेलले बताए । ‘नेताहरुको व्यवस्थापनको सामर्थ्य र सिमा त हुन्छ नै। त्यसअर्थमा मुख्य नेतृत्वले भनिसकेपछि कार्यकर्ताहरुले अवस्य मनन् गर्नुहुन्छ,’ उनले भने, ‘एकाध व्यक्तिहरु असन्तुष्ट हुने कुरा हिजो पनि थियो, अहिले पनि होला। त्यो बेग्लै विषय हो। तर त्यसले पार्टी आन्दोलनका सन्दर्भमा त्यति ठूलो तात्विक अन्तर पार्छ भन्ने मलाई लाग्दैन ।

पद नपाएका कारण असन्तुष्ट भएका व्यक्तिहरुलाई सही व्यवस्थापन गर्ने उनको भनाइ छ । ‘जो असन्तुष्ट हुन्छन्, उनीहरुलाई पनि पार्टीले समयक्रममा व्यवस्थापन गरेर काममा लगाउँछ नै । त्यस अर्थमा त्यो ठुलो समस्या होइन,’ उनले भने।

तीन दिन चल्ने छ महाधिवेशन

तीन दिनसम्म चल्ने ११औं महाधिवेशन मुख्यगरी नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मुख्य गरी राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठन प्रतिवेदन प्रस्तुत गरेपछि नेतृत्व चयन प्रक्रियामा अघि बढ्ने छ ।

यसअघिनै अध्यक्ष ओलीले विधान महाधिवेशनले राजनीतिक, सांगठनिक, विधान पारित गसिकेको, पछिल्लो केन्द्रीय कमिटीले भदौ २३ र २४ को विश्लेषण गरी निश्कर्ष निकालेकाले बहस गर्न जरुरी नभएको बताए । एमालेको महाधिवेशनको उद्घाटन भक्तपुरका सल्लाघारीमा हुनेछ । बन्दशत्र र नेतृत्व चयन काठमाडौंको भृकटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

मंसिर २७ उद्घाटन र प्रतिनिधिको दर्ता, अध्यक्षमण्डल गठन, २८ मा बन्दसत्र सुरु, बिभिन्न समिति गठन, निर्वाचन आयोगको काम सुरु गर्नेछ’ उनले भने, ‘त्यसपछि बैठकमा प्रस्तुत भएका राजनीतिक प्रस्तावहरु हलमा राखिने छ अध्यक्ष मण्डलले निर्वाचन आयोगलालाई अघि बढाउने काम गर्ने छ ।

मंसिर २९ मा नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने उनले बताए । निर्वाचन बिभागका प्रमुख विजय सुब्बाले निर्वाचन हुने अवस्थामा विद्युती मेसिन प्रयोग गर्ने कि कागजी मतपत्र भन्नेबारे टुंगो नभएको बताए । ‘पार्टी सचिवालयले निर्णय गरेपछि विद्युतीय र कागजको मतपत्र प्रयोग गर्ने भन्ने टुंगो लाग्ने छ’ उनले भने । चितवनमा भएको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।

– गंगा बीसी